काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधवार) राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। मतदान प्रक्रिया सम्पन्न नहुन्जेलसम्म लागू हुने यो व्यवस्था बिहीवार साँझ ५ बजेसम्म कायम रहने जनाइएको छ।
निर्वाचन आयोगले सुरक्षा व्यवस्थालाई कडाइ गर्न सवारी सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार गृह प्रशासनमार्फत निषेध आदेश लागू गर्न लागिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
उनका अनुसार अत्यावश्यक सेवामा संलग्न सवारीसाधनहरू भने सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारसम्बन्धी सवारी, खानेपानी तथा विद्युत् मर्मतका सवारीसाधनहरूलाई अवरोध नहुने व्यवस्था गरिएको छ।
यसैगरी कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन तथा आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ।
आयोगले मतदाता र यात्रुहरूलाई आवश्यक परे गन्तव्यमा पुग्न आज राति १२ बजेसम्म यात्रा सम्पन्न गर्न आग्रह गरेको छ। निषेध अवधिमा सवारी प्रयोगका क्रममा समस्या आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न पनि आयोगले अनुरोध गरेको छ। आवश्यक परे सुरक्षा निकायले आयोगसँग समन्वय गरी सहजीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
आर्थिकन्यूज