शीर्षकहरू

महाधिवेशनको निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग

महाधिवेशनको निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी १२ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रोविन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन्।

मार्च १४ देखि १६ सम्म काठमाडौंमा तय महाधिवेशनअघि शेरचनले विशेष अपिल जारी गर्दै वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्र देखिएको प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया अघि नबढाउन निर्वाचन समितिलाई आग्रह गरेका हुन्।

उनले विशेष गरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण त्यहाँ रहेका नेपाली समुदाय प्रभावित भएको उल्लेख गरेका छन्। युरोप, अमेरिका र मध्यपूर्वबाट नेपाल आउने प्रतिनिधिहरूको यात्रा अनिश्चित बनेको अवस्थामा व्यापक सहभागिता विनाको महाधिवेशन अपूर्ण हुने उनको दाबी छ।

शेरचनले संस्थाभित्रका प्राविधिक र वैधानिक विषयसमेत औंल्याएका छन्। कुल पञ्जीकृत सदस्यहरूको प्रमाणीकरणसहितको आधिकारिक विवरण सार्वजनिक नगरिएको, शुल्क नबुझाएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) र सदस्यहरूको सूची स्पष्ट नभएको तथा विधानले तोकेको ३० दिनको अनिवार्य समयसीमा पालना नगरिएको उनको भनाइ छ।

यी विवादका बाबजुद महाधिवेशन गर्नैपर्ने अवस्था आए सहमतिमा नेतृत्व चयन गर्नुपर्ने उनको प्रस्ताव छ। चुनावी प्रतिस्पर्धाले संस्थामा थप विभाजन निम्त्याउन सक्ने चेतावनी उनले दिएका छन्।

सन् २०२१ को महाधिवेशनमा प्रतिनिधि विवादका कारण देखिएको विभाजनको सन्दर्भ उल्लेख गर्दै शेरचनले पुनः वैधानिक अधिकार बेवास्ता भए संस्थालाई दीर्घकालीन क्षति पुग्ने बताएका छन्। उनले विवादित प्रक्रियामा सहभागी नहुने स्पष्ट गर्दै पदभन्दा संस्थाको एकता र विश्वसनीयता महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

परिस्थिति सामान्य भई सबै प्रतिनिधिहरूले सुरक्षित रूपमा सहभागिता जनाउन सक्ने अवस्था बनेपछि मात्र बृहत्तर सहमतिसहित महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको माग छ।