वीरगञ्ज। आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले वीरगञ्जमा सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा तीन जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । सुरक्षा निकायले यस अपरेशनलाई निर्वाचन सुरक्षाका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।
गएराति करिब २ बजेतिर श्रीजंग गण वीरगञ्जको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, इनर्वा क्षेत्रमा विशेष सर्च अपरेशन सञ्चालन गरिएको थियो। उक्त अभियानका क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा वीरगञ्ज–१६ निवासी कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका छन्। उनीहरूको साथबाट ९ पिस सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, सेतो रंगको तार ५ वटा तथा सुंगुरको टाउको बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार बरामद सामग्रीहरू निर्वाचनको समयमा साम्प्रदायिक सद्भाव खल्बल्याउने तथा अराजकता सिर्जना गर्ने उद्देश्यका लागि प्रयोग हुन सक्ने संकेत देखिएको सुरक्षा स्रोतको भनाइ छ।
उपसेनानी मरहठ्ठाका अनुसार निर्वाचन अवधिभर कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिन सेना उच्च सतर्कतामा रहेको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
सुरक्षा निकायले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ। निर्वाचनको समयमा शान्ति, सद्भाव र विधिको शासन कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ।
आर्थिकन्यूज