शीर्षकहरू

मौन अवधिमा सादा पोसाकमा प्रहरी परिचालन, सामाजिक सञ्जालसमेत निगरानीमा

मौन अवधिमा सादा पोसाकमा प्रहरी परिचालन, सामाजिक सञ्जालसमेत निगरानीमा

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने सम्भावित गतिविधि रोक्न सुरक्षा निकायले देशभर निगरानी कडा पारेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा सादा पोसाकसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

सुरक्षा संयन्त्रले मौन अवधिमा हुन सक्ने चलखेल, घरदैलो भेटघाट, गोप्य प्रचार तथा अवाञ्छित गतिविधि नियन्त्रणमा ध्यान केन्द्रित गरेको जनाएको छ। यसका लागि राष्ट्रिय अनुसन्धान विभागको समेत समन्वयमा निगरानी बढाइएको छ। निर्वाचनविरोधी समूहको गतिविधिमाथि विशेष अनुगमन र आवश्यक कारबाही तीव्र पारिएको सुरक्षा स्रोतले जनाएको छ।

गृह मन्त्रालयले मौन अवधिको पहिलो दिन छिटपुट घटनाबाहेक ठूला अवरोध नभएको जनाएको छ। तर दोस्रो दिन चुनौतीपूर्ण हुन सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई कसैको पक्ष नलिई कडाइका साथ कानुन कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

आचारसंहिताविपरीत गतिविधि रोक्न सामाजिक सञ्जालसमेत निगरानीमा राखिएको छ। डिजिटल प्लेटफर्ममार्फत प्रचार, दुष्प्रचार वा मतदातालाई प्रभावित पार्ने सामग्री प्रकाशन भए कानुनी कारबाही गरिने जनाइएको छ।

यस निर्वाचनमा उपत्यकाका प्रत्येक निर्वाचन क्षेत्रमा प्रहरी उपरीक्षक (एसपी) र उपत्यकाबाहिरका क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई कमान्डर तोकिएको छ। समन्वय र अनुगमनका लागि वरिष्ठ प्रहरी अधिकारीहरू पनि फिल्डमै परिचालित छन्।

सरकारले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सुरक्षा व्यवस्था सुदृढ पारिएको जनाएको छ। हालसम्म ठूला राजनीतिक हिंसाका घटना नभएको दाबी गर्दै सुरक्षा निकायले मतदान शान्तिपूर्ण र निष्पक्ष बनाउन सबै संयन्त्र सक्रिय अवस्थामा रहेको उल्लेख गरेको छ