काठमाडौं। क्षेत्रीय हवाई क्षेत्र आंशिक रूपमा अवरुद्ध रहँदा दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले सीमित उडान पुनः सञ्चालनमा ल्याएको जनाएको छ।
कम्पनीले दुबई समय अनुसार मंगलबार दिउँसो ३ बजेपछि अद्यावधिक सूचना जारी गर्दै दुबई अन्तर्राष्ट्रिय विमानस्थल का टर्मिनल २ र ३ बाट आंशिक रूपमा उडान भइरहेको जानकारी दिएको हो।
हालको अवरोधबाट प्रभावित यात्रुलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको कम्पनीले जनाएको छ। सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गर्दै विकसित अवस्थाको निरन्तर अनुगमन भइरहेको र अस्थायी प्रतिबन्ध हटेपछि क्रमशः पूर्ण सञ्चालनमा फर्किने प्रयास जारी रहेको कम्पनीको भनाइ छ।
कम्पनीले उडान पुष्टि नभएसम्म वा प्रत्यक्ष रूपमा सम्पर्क नगरिएसम्म विमानस्थल नआउन यात्रुलाई आग्रह गरेको छ। प्रभावित यात्रुलाई ‘म्यानेज योर बुकिङ’ प्रणालीमार्फत आफ्नो सम्पर्क विवरण अद्यावधिक गर्न र उडानसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा जाँच गर्न अनुरोध गरिएको छ।
यात्रु तथा चालकदलको सुरक्षा नै सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै कम्पनीले यात्रुको धैर्यता र सहकार्यप्रति आभार व्यक्त गरेको छ। अत्यधिक फोन कलका कारण सम्पर्क केन्द्रको सेवामा केही ढिलाइ हुन सक्ने पनि कम्पनीले जनाएको छ।
आर्थिकन्यूज