शीर्षकहरू

होली र निर्वाचनको प्रभाव : २० दिनमा उपत्यकाबाट बाहिरिए ८ लाख ८४ हजार यात्रु

होली र निर्वाचनको प्रभाव : २० दिनमा उपत्यकाबाट बाहिरिए ८ लाख ८४ हजार यात्रु

काठमाडौं। होली पर्व र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण पछिल्लो २० दिनमा काठमाडौं उपत्यकाबाट ८ लाख ८४ हजार ९५ जना यात्रु बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ। यात्रुको चाप बढेसँगै केही दिनयता उपत्यकाका मुख्य सडकहरू तुलनात्मक रूपमा सुनसान देखिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का डीएसपी सुनिलजंग शाहका अनुसार निर्वाचनका कारण ठूलो संख्यामा यात्रु उपत्यका बाहिरिएका हुन्। “गुड्ने सवारीसाधनको संख्या निकै घटेको छ, त्यसैले ट्राफिक व्यवस्थापनमा समस्या छैन,” उनले भने। अधिकांश ट्राफिक प्रहरी निर्वाचन सुरक्षामा खटिएकाले सीमित जनशक्तिबाट ट्राफिक व्यवस्थापन भइरहेको उनले जानकारी दिए।

ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने सवारीलाई नागढुंगा, बालाजु, सामाखुसी, भक्तपुरको जगाती, ललितपुरको फर्पिङ र चापागाउँ नाकामा जाँच गर्दै सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। विशेषगरी मोटरसाइकल यात्रुलाई तीव्र गतिमा नचलाउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र सुरक्षित यात्राका उपायबारे सचेत गराइँदै आएको प्रहरीले जनाएको छ।

बिहीबार हुने निर्वाचनलाई लक्षित गर्दै बुधबार राति १२ बजेदेखि सवारी सञ्चालनमा रोक लाग्ने भएकाले मध्यम दूरीका सवारी मात्र उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको भनाइ छ।

नयाँ बसपार्कस्थित ल्होत्से बहुउद्देश्यीय प्रालि का पंकज मल्लका अनुसार १७ गते आइतबार सबैभन्दा बढी सवारीसाधन बाहिरिएका थिए। “त्यस दिन मात्र ४ सय ८० यात्रुवाहक गाडी बाहिरिएका थिए, सामान्य अवस्थामा दैनिक ३ सयदेखि साढे ३ सय गाडी मात्र छुट्ने गर्छन्,” उनले भने।

बुधबार मध्याह्नदेखि निर्वाचन अवधिभरका लागि बसपार्कका टिकट काउन्टर बन्द गरिएको र बसपार्क क्षेत्र अहिले सुनसान रहेको उनले बताए। शुक्रबारयता मात्रै बसपार्कबाट करिब डेढ लाख यात्रुले टिकट काटेको जानकारी दिँदै उनले अधिकांश यात्रु मतदानका लागि गृहजिल्ला गएको उल्लेख गरे। मंगलबार ३ सय यात्रुवाहक सवारी बाहिरिएको र बुधबार बिहान पोखरा, बुटवल तथा भैरहवाका लागि १५ वटा बस छुटेको पनि उनले जानकारी दिए।