काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार (फागुन २१ गते) हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जनाएको छ ।
गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो ।
बैठकले संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने, कानून विपरितका गतिविधि भए-गरेको पाइएका कानून बमोजिम तुरुन्त कारवाही गर्ने लगायतका निर्णय गरेको छ ।
यस्तै बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त बनाइएकाले सबैलाई निर्वाचनमा ढुक्क भएर मतदानमा सहभागी हुन आव्हान गर्ने निष्कर्ष समेत निकालेको छ ।
बैठकमा गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरु तथा गृहमन्त्रालयका उच्च अधिकारीहरुको सहभागी रहेको थियो।
आर्थिकन्यूज