काठमाडौं । सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्कासन गर्ने तयारीमा रहेको अग्नि सिमेन्टले चैत १२ गते वार्षिक साधारण सभा बोलाएको छ। फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न सभा आह्वान गर्ने निर्णय गरेको हो।
सभा कम्पनीको दर्ता कार्यालय कुलेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ। सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव स्वीकृत गर्दै आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्नेछ।
यसैगरी, कम्पनीको प्रबन्धपत्रको दफा ६ संशोधन गरी संशोधित प्रबन्धपत्र अभिलेख राख्ने विषयमा पनि निर्णय गरिने जनाइएको छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।
उत्पादन तथा प्रशोधन क्षेत्रका अन्य कम्पनीहरूले धितोपत्र बजारमा प्रवेश गर्ने तयारी गरिरहेका बेला अग्नि सिमेन्टले पनि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने योजना अघि सारेको हो।
आईएसओ तथा नेपाल स्ट्यान्डर्ड प्रमाणित उक्त उद्योगको दैनिक उत्पादन क्षमता ९०० टन रहेको कम्पनीले जनाएको छ। उत्पादन क्षमता विस्तार तथा नयाँ क्लिंकर उत्पादन इकाई स्थापना गर्ने योजना समेत कम्पनीले बनाएको छ।
हाल कम्पनीले ‘अग्नि पोर्टल्याण्ड पोज्लोलाना सिमेन्ट (पीपीसी)’ र ‘अल्फा अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपिसी)’ ब्रान्डमा सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
आर्थिकन्यूज