एजेन्सी । ईरान–इजरायलबीच जारी युद्धका बीच श्रीलंकाको दक्षिणी तट नजिक ईरानी नौसेनाको एक फ्रिगेट पनडुब्बी आक्रमणमा परेर डुबेको रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्टअनुसार Islamic Republic of Iran Navy अन्तर्गतको युद्धपोत IRIS Dena बुधबार आक्रमणको निशानामा परेको हो। घटनामा कम्तीमा १०१ जना बेपत्ता भएको र ७८ जना घाइते भएको जनाइएको छ। घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। जहाजमा करिब १८० जना सवार रहेको जानकारी छ।
श्रीलंकाको विदेश मन्त्रालयका अनुसार डुब्दै गरेको जहाजबाट ३२ जनाको उद्धार गरिएको छ। स्वास्थ्य अधिकारीहरूले एक जनाको अवस्था गम्भीर रहेको र अन्यको उपचार भइरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Reutersलाई उद्धृत गर्दै श्रीलंकाली नौसेनाले हालसम्म ७९ जनालाई उद्धार गरी अस्पताल पुर्याइएको जनाएको छ। अझै १०१ जना बेपत्ता रहेको आशंका गरिएको छ। उक्त फ्रिगेट भारतको विशाखापत्तनममा आयोजित ‘मिलान २०२६’ बहुराष्ट्रिय नौसैनिक अभ्यासमा सहभागी भई फर्किंदै गरेको बताइएको छ।
यसबीच युद्धको पाँचौँ दिनमा अमेरिका र इजरायलले तेहरानसहित अन्य सहरमा हवाई आक्रमण गरेको तथा त्यसको जवाफमा ईरानले मिसाइल र ड्रोन आक्रमण गरेको खबरहरू सार्वजनिक भएका छन्।
आर्थिकन्यूज