काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण जिम्मेवारीसमेत भएको बताएका छन्।
काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व चयन गर्ने अपेक्षा व्यक्त गरे। त्यस्तो नेतृत्वबाट स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सक्रिय सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ देश अघि बढ्ने विश्वास उनले व्यक्त गरे।
ढकालले मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै विकास र समृद्धिको प्रमुख संवाहक नै निजी क्षेत्र भएको बताए निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै अपेक्षित आर्थिक विकास हासिल गर्न सकिने उनको भनाइ थियो।
निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको महत्वलाई मनन गर्दै सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले सबै नागरिकलाई मतदानमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत देशको साझा भविष्य निर्माणमा योगदान दिन आग्रह गरे।
आर्थिकन्यूज