शीर्षकहरू

यसपटक सबै समस्याको हल नहोला तर अराजकता र अस्थिरतालाई जनताले अस्वीकार गर्नेछन् : शंकर पोखरेल

यसपटक सबै समस्याको हल नहोला तर अराजकता र अस्थिरतालाई जनताले अस्वीकार गर्नेछन् : शंकर पोखरेल

दाङ । दाङ क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले यसै पटकको निर्वाचनबाट मुलुकको सबै समस्या हल नहुने बताएका छन् । तर निर्वाचनले लोकतन्त्रलाई एउटा सही बाटो तय गर्नेमा आफू विश्वस्त रहेको बताए ।

विहीबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ केन्द्रमा मतदान गरेपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै राजनीतिक अस्थिरता मुलुकको समृद्धि र विकासको बाधक भन्ने अनुभूति जनतामा पर्नु जरुरी रहेको पनि उल्लेख गरे ।

उनले अगाडि भने,‘यतिबेला पपुलिज्म र एनार्किज्म नेपालको राजनीतिक निकासको चुनौतीका रुपमा देखा परेको छ । यस पटकको निर्वाचनबाट सबै कुराको निकास हुन्छ भन्ने छैन । निर्वाचनको परिणाम भनेको प्रमुख राजनीति दलहरु जो विचारधाराका जगमा रुपमा उभिएका छन् उनीहरु नै मुख्य शक्तिका रुपमा आउनेछन् ।

मुलुकलाई विध्वंश र अराजकतातर्फ लिएर जाने कुरा दिर्घकालीन हितका रुपमा हुनेछैन,’ उनले अगाडि भने,‘दक्षिण एसियामा पछिल्ला समयमा नेपालको जस्तै घट्ना घटेका श्रीलंका र बंगलादेश जस्ता देशहरुको निर्वाचनको परिणामले राष्ट्रको विध्वशंमा संलग्न र अराजकतालाई अस्वीकार गरेको देखिन्छ । श्रीलंका र बंगलादेशका जनता भन्दा बढी सचेत नेपाली जनता छन् ।’

उनले मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हित जोखिममा परेको भन्दै यस निर्वाचनले ती विषयलाई जनमतमार्फत पुनःस्थापित गर्ने विश्वास व्यक्त गरे।