शीर्षकहरू

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छः पूर्वराष्ट्रपति डा यादव

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छः पूर्वराष्ट्रपति डा यादव

धनुषाधाम ।  पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गरेका छन।

यहाँको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको रक्षा र नवयुवाको चाहना सम्बोधन गर्न लोकतान्त्रिक शक्तिलाई चुनेर संसद्मा पठाउन आग्रह समेत गरे ।

पूर्वराष्ट्रपति डा यादवले २०८४ मा हुनुपर्ने निर्वाचन विषम परिस्थितिका कारण २०८२ मै हुन लागेको भन्दै मतदातालाई गम्भीर भएर विवेकपूर्ण ढङ्गले मतदान गर्न आग्रह गरे। “हामी देशमा उत्पन्न विषम परिस्थितिका कारण आज निर्वाचनमा होमिएका छौँ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होस् र देशमा स्थिरता कायम हुने गरी जनमत आओस् भन्ने मेरो कामना छ”, उनले भने।

पूर्वराष्ट्रपति डा यादवले नेपालको संविधान लोकतान्त्रिक आन्दोलनका उपलब्धिको परिणाम भएको उल्लेख गर्दै त्यसमा विसं २००७, २०४६ र २०६२र६३ का जनआन्दोलन तथा मधेस आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको बताए । सङ्घीय लोकतान्त्रिक, समावेशी तथा समानुपातिक विशेषतासहितको संविधानलाई अझ सुदृढ बनाउन सही पार्टी र सही व्यक्तिलाई छनोट गर्नुपर्ने उनको भनाइ छ ।

“संविधान र संविधानले संस्थागत गरेका उपलब्धिका लागि धेरैको बलिदानीपूर्ण योगदान छ। यसीबीचमा गत भदौ २३ र २४ मा जेनजी विद्रोह भयो, यस घटनालाई सरकारले उचित ढङ्गले व्यवस्थापन गर्नुपथ्र्यो”, डा यादवले  भने, “युवाहरूका माग जायज थिए, तर त्यही क्रममा देशभर आगजनी गराएर अस्थिरता फैलाउने प्रयास प्रतिगामी शक्तिबाट भयो । यस अवस्थामा देशको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिलाई विजयी गराउन आवश्यक छ ।”

उनले निर्वाचन सफल भएर देशमा शान्ति कायम हुने विश्वास व्यक्त गरे। रासस