काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको धापासीस्थित मतदान केन्द्रमा पुगेर आज बिहान मतदान गर्दै आफ्नो कर्तव्य पूरा भएको बताएकी छन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले आफ्नो जिम्मेवारी पूरा भएको बताउँदै भनिन,‘मेरो कर्तव्य पूरा भयो, धेरै खुशी छु ।’ यो निर्वाचन पछिल्लो केही महिनादेखि जारी राजनीतिक अस्थिरतापछि हुँदैछ ।
गत सेप्टेम्बरमा भएको ऐतिहासिक ‘जेनजी आन्दोलन’ पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो र प्रतिनिधिसभा विघटन गरिएको थियो ।
त्यसपछि गत भाद्र २७ मा कार्कीलाई अन्तरिम सरकारको कार्यकारी प्रमुखका रूपमा नियुक्त गरिएको थियो । यसैबिच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वतन्त्र, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको बताउँदै सबै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।
यसपटक १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाताले प्रतिनिधिसभाका २७५ सिटका लागि प्रतिस्पर्धा गरिरहेका ६ हजार ५४१ उम्मेदवारको भाग्य तय गर्नेछन् । यसअघि २०७९ को निर्वाचनको तुलनामा यसपटक करिब ९ लाख १५ हजार नयाँ मतदाता थपिएका छन् । कुल मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका युवाको हिस्सा ५२ प्रतिशत रहेको बताइएको छ ।
उम्मेदवारमध्ये ३ हजार ४०६ जना प्रत्यक्ष (फस्र्ट पास्ट द पोस्ट) प्रणालीबाट प्रतिस्पर्धामा छन् भने बाँकी समानुपातिक प्रणालीतर्फ छन् । प्रत्यक्ष प्रणालीअन्तर्गत १६५ सिटका लागि ६५ दलका २ हजार २६३ उम्मेदवार तथा १ हजार १४३ स्वतन्त्र उम्मेदवार मैदानमा छन् ।
लैङ्गिक प्रतिनिधित्व भने अझै असन्तुलित देखिएको छ । कुल उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३८८ महिला छन् भने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जनामात्र उम्मेदवार छन् । उम्मेदवारको उमेर समूह पनि असमान देखिएको छ । ४१ देखि ६० वर्ष उमेर समूहका १ हजार ९२५ उम्मेदवार छन् भने ३० वर्ष वा सोभन्दा कम उमेरका मात्र २०१ जना उम्मेदवार छन् ।
समानुपातिकतर्फका ११० सिटका लागि ६३ दलले ३ हजार १३५ उम्मेदवारको सूची बुझाएका छन् । जसमा पुरुष र महिला बराबरी संख्यामा छन् । राष्ट्रिय दलको मान्यता पाउन कुनै दलले कम्तीमा तीन प्रतिशत समानुपातिक मत प्राप्त गर्नुका साथै प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने व्यवस्था छ ।
निर्वाचन सुरक्षाका लागि देशभर १० हजार ९६३ मतदान केन्द्रमा ३ लाख ४१ हजार ११३ सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा १ लाख ४९ हजार अस्थायी “निर्वाचन प्रहरी” समेत रहेका छन् । प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बुधबार बसेको सुरक्षा परिषद् बैठकले यसपटकको निर्वाचन विगतको तुलनामा अझ पारदर्शी हुने निष्कर्ष निकालेको छ ।
निर्वाचन आयुक्त भण्डारीले ‘कुनै शक्तिले पनि निर्वाचन अवरुद्ध गर्न सक्दैन’ भन्दै विशेषगरी युवा मतदाताको उच्च सहभागिताले मतदानदर बढ्ने विश्वास व्यक्त गरेका छन् । २०२२ को निर्वाचनमा मतदानदर ६१.४ प्रतिशतमा झरेको थियो भने २००६ पछि औसत मतदानदर ६९.४ प्रतिशत रहेको छ ।
दुर्गम पहाडी क्षेत्रबाट मतपेटिका छिटो संकलन गर्न हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ । निर्वाचन अधिकारीहरूले मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने अपेक्षा गरेका छन् । एएनआई
आर्थिकन्यूज