काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका क्रममा देशका केही जिल्लाका मतदान केन्द्रमा मतदाताहरूले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका छन्। दार्चुला, दाङ र ओखलढुङ्गाका केही केन्द्रमा स्थानीयले आफ्ना माग सम्बोधन नभएको भन्दै मतदान प्रक्रियामा सहभागी नहुँदा ती स्थानमा मतदान कार्य प्रभावित भएको छ।
दार्चुलाका दुई केन्द्रमा शून्य मतदान
दार्चुलाको नौगाढ गाउँपालिका–१ नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय र अपि हिमाल गाउँपालिका–३ स्थित दुधिलाको झुक्सु मतदान केन्द्रमा बिहानदेखि मतदाता उपस्थित भएका छैनन्।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार ६०२ मतदाता रहेको गौरीशंकर केन्द्र र ३४६ मतदाता रहेको झुक्सु केन्द्रमा सुरक्षासहित सबै तयारी पूरा भए पनि बिहान १० बजेसम्म एक जना पनि मतदान गर्न आएका छैनन्। स्थानीयले ‘नो भोट’ भन्दै विरोध जनाएको सुनिए पनि स्पष्ट कारण भने खुल्न सकेको छैन। कर्मचारीहरू मतदाताको आगमनको प्रतीक्षामा रहेका छन्।
दाङमा बस्ती स्थानान्तरणको माग
दाङको बबई गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय जिला र वडा नम्बर ७ मलईस्थित देउती मावि तल्लो मलई मतदान केन्द्रमा पनि मतदाताहरू मतदानमा सहभागी भएनन्।
बस्ती स्थानान्तरणको माग सम्बोधन नभएको भन्दै स्थानीयले यसअघि नै मतदान बहिष्कार गर्ने घोषणा गरेका थिए। मतदान सुरु भएदेखि सुरक्षाकर्मी र कर्मचारी तयारी अवस्थामा रहे पनि ती केन्द्रमा अहिलेसम्म एक मत पनि खस्न सकेको छैन।
ओखलढुङ्गामा अस्पताल निर्माणको माग
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा ७०१ जना मतदाता रहे पनि सामूहिक बहिष्कार गरिएको छ। प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माण गर्ने आश्वासन दिए पनि काम सुरु नभएको विरोधमा स्थानीय मतदानमा सहभागी नभएका हुन्।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले उक्त केन्द्रमा मतदाता नदेखिएको जानकारी दिँदै यस विषयमा निर्वाचन आयोगलाई अवगत गराइएको बताए। साँझसम्म पनि मतदान नभए कर्मचारीहरूले समानुपातिकतर्फको मत मुचुल्का उठाएर प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
आर्थिकन्यूज