काठमाडौँ। इरानसँगको बढ्दो अमेरिका-इजरायल तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ। बिहीबार सुरुवाती कारोबारमै तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।
सुरुवाती बजारमा ब्रेन्ट क्रुडको मूल्य ३.२६ प्रतिशतले बढेर प्रति ब्यारेल ८३.९९ डलर पुगेको छ। पछिल्लो कारोबारमा भने यसको मूल्य करिब ८४ डलर प्रति ब्यारेल पुगेको छ।
पश्चिम एसियामा बढ्दो सैन्य गतिविधिका कारण तेल तथा ग्यास आपूर्तिमा दीर्घकालीन अवरोध आउन सक्ने आशंका बढ्दै जाँदा बजारमा चिन्ता बढेको छ। विशेषगरी इरान–इजरायल युद्धका कारण विश्वका प्रमुख तेल ढुवानी मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुज जलमार्ग प्रभावित बनेको छ।
इरान र ओमानबीच रहेको उक्त जलमार्गले खाडी क्षेत्रलाई अरब सागरसँग जोड्छ। विश्वभर खपत हुने कच्चा तेलको करिब २० प्रतिशत ढुवानी यही मार्गबाट हुने भएकाले यहाँको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पार्न सक्छ।
साउदी अरब, इराक, इरान, संयुक्त अरब इमिरेट्स, कुवेत र कतारबाट निर्यात हुने धेरै तेल ट्यांकर यही मार्ग हुँदै गुड्छन्।
भारतले पनि दैनिक २५ देखि २७ लाख ब्यारेल कच्चा तेल स्ट्रेट अफ हर्मुजमार्फत आयात गर्ने गरेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। भारतले मुख्यतः इराक, साउदी अरब, यूएई र कुवेतबाट तेल आयात गर्छ।
नेपाल भने इन्धनका लागि पूर्ण रूपमा भारतमै निर्भर भएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा त्यसको प्रभाव अन्ततः नेपाली बजारमा पनि पर्ने सम्भावना रहन्छ।
आर्थिकन्यूज