दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रबाट ५६ बुक मतपत्र हराएपछि मतदान प्रक्रिया अवरुद्ध भएको छ।
बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको केही समयमै मतदानस्थलमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्ने प्रयास गरेको थियो। त्यसपछि उत्पन्न विवाद हालसम्म समाधान हुन सकेको छैन।
सर्वदलीय बैठकले मतदान पुनः सुरु गर्ने सहमति गरे पनि मतपत्र हराएको विषय स्पष्ट नभएसम्म प्रक्रिया अघि नबढाइएको जनाइएको छ। दोलखामा निर्वाचन सुरक्षाको जिम्मेवारीमा रहेका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार हराएको मतपत्रको खोजी भइरहेको छ।
निर्वाचन आयोगका कर्मचारी र सुरक्षाकर्मीले हराएका मतपत्रलाई मुचुल्का उठाई गणनामा समावेश नगर्ने गरी मतदान अघि बढाउन प्रस्ताव गरेका थिए। तर, दलका प्रतिनिधिहरूले उक्त प्रस्ताव अस्वीकार गरेका छन्। विवादमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता संलग्न रहेको बताइएको छ। घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको थियो। अहिले मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
आर्थिकन्यूज