शीर्षकहरू

प्रतिनिधि सभा निर्वाचन-२०८२ : छिटपुट घटनाबाहेक शान्तिपूर्ण ढंगले मतदान सम्पन्न

६ हजार ५४१ उम्मेदवारको भविष्य बाक्सामा कैद

प्रतिनिधि सभा निर्वाचन-२०८२ : छिटपुट घटनाबाहेक शान्तिपूर्ण ढंगले  मतदान सम्पन्न

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ बिहीबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्पन्न भएको छ। मतदान अझै जारी रहँदा लाइनमा रहेका मतदाताले पनि भोट हाल्न पाएका छन्। निर्वाचन आयोगले निर्धारित समय भित्र प्रवेश गरेकालाई मात्र भोट दिन अनुमति रहेको जनाएको छ।

निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सिटका लागि ६ हजार ५४१ उम्मेदवार मैदानमा थिए। प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य उम्मेदवार थिए भने समानुपातिकतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला उम्मेदवार प्रतिस्पर्धामा थिए।

देशभरका मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको थियो, जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य रहेका थिए। प्रारम्भिक जानकारी अनुसार ५० प्रतिशतभन्दा बढी मत खसेको छ।

निर्वाचनका लागि देशभर १०,९६७ मतदान स्थलमा २३,११२ मतदान केन्द्र व्यवस्था गरिएको थियो। यस्तै, १४३ अस्थायी मतदानस्थल पनि तय गरिएको थियो। मतदानमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती मतदातालाई प्राथमिकता दिइएको थियो।

सुरक्षाका लागि ७९,७२७ नेपाली सेना, ७५,७९७ नेपाल प्रहरी, ३४,५६७ सशस्त्र प्रहरी बल, १,९२१ राष्ट्रिय अनुसन्धान र १,४९,०९० निर्वाचन प्रहरी खटाइएका थिए। कुल २,१५,००० कर्मचारी मतदान सञ्चालनमा सक्रिय थिए।

निर्वाचन आयोगले भने छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको जानकारी दिएको छ।