शीर्षकहरू

रवि लामिछाने उम्मेदवार बनेको चितवनमा ६४ प्रतिशत मत खस्यो

रवि लामिछाने उम्मेदवार बनेको चितवनमा ६४ प्रतिशत मत खस्यो

चितवन । आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा आज बिहानदेखि भएको मत दानका क्रममा दुई लाख ८३ हजार ४२८ मत खसेको हो । जसमध्ये ६७ दशमलव २५ प्रतिशत महिला र ६० दशमलव ८९ प्रतिशत पुरुष रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

आज राति १०ः०० बजे सम्ममा तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका गणना स्थलमा आइपुग्ने छ । निर्वाचन आयोगका तर्फबाट गणनाका लागि सम्पूर्ण तयारी भएको भन्दै उहाँले उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेर गणना थाल्ने बताए ।

चितवन क्षेत्र नम्बर १ को भुवानी शङ्कर कलेज खैरहनी, क्षेत्र नम्बर २ को उद्योग सङ्घको प्रदर्शनी केन्द्र भरतपुर र क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा गणना हुने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए । जसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रोलिङ्गी थिए ।
 
जिल्लाका १६२ स्थल र ४९४ केन्द्रबाट मतदाताले मतदान गरेका हुन् । जिल्लामा आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ उम्मेदवार रहेका छन् । मतदान सकिएसँगै मग गणना स्थलमा मतपेटिका ल्याउने क्रम सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए । सो समयमा ६७ दशमलव १४ प्रतिशत मत खसेको थियो ।