एजेन्सी । भारतले नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै नेपाली जनताले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा खुशी व्यक्त गरे।
उनले गत वर्षका चुनौतीपूर्ण परिस्थितिहरूबीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा निर्वाचनमा संलग्न सबै पक्षलाई भारतको तर्फबाट बधाई दिएका छन्।
जयसवालले भारत नेपालको शान्ति, प्रगति र स्थिरताप्रति सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै, नेपाल सरकारको अनुरोधअनुसार निर्वाचनका लागि आवश्यक रणनीतिक तथा भौतिक सहयोग उपलब्ध गराएको जानकारी दिए।
उनका अनुसार छिमेकी मुलुकको नाताले भारतले नेपालको लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन निरन्तर सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि यो सहकार्य जारी रहनेछ।
भारतले निर्वाचनपश्चात् गठन हुने नयाँ सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्दै दुई देशबीचको मजबुत र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने तथा पारस्परिक हितका लागि सहकार्य गर्ने अपेक्षा राखेको छ।
आर्थिकन्यूज