काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको देशव्यापी जनलहरलाई ऐतिहासिक जेनजी विद्रोहपछिको आम जनताको शान्त विद्रोहको संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै उनले भनेका छन्, “यो मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न आम जनताले व्यक्त गरेको तीव्र मत हो।”
डा. भट्टराईले रास्वपालाई बधाई दिँदै सबै राजनीतिक दलहरूले नवोदित दलको पक्षमा आएको जनमत स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। उनले रास्वपालाई जनताका अपेक्षाहरू छिटो पूरा गर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको र यो अवसरलाई सकारात्मक परिवर्तनका लागि प्रयोग गर्नुपर्ने ठम्याइ पनि प्रस्तुत गरेका छन्।
उनका अनुसार, रास्वपाको उदयले नेपाली राजनीतिमा नयाँ आयाम थपेको छ, जहाँ पुराना दलहरूले जनताको भावना बुझ्न नसकिरहेका थिए। आगामी नेतृत्वका लागि चुनौतीहरू रहे पनि, जनताको अभूतपूर्व म्यान्डेटले मुलुकमा सुशासन र समृद्धि ल्याउन मद्दत गर्ने विश्वास डा. भट्टराईले व्यक्त गरेका छन्।
आर्थिकन्यूज