एजेन्सी। चीनमा विकास भइरहेको ठूलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिण पूर्वी चिनियाँ सहर कुन्सानमा परीक्षण भइरहेको यो दश यात्रु क्षमताको विद्युतीय विमानलाई चीनमा हालसम्म निर्माण गरिएको सबैभन्दा ठूलो सिधै माथि उड्न र सिधै अवतरण गर्न सक्ने (इभिटिओएल) विद्युतीय विमान मानिन्छ ।
साङ्घाई बन्दरगाहबाट करिब ६० किलोमिटर पश्चिममा रहेको कुन्सानस्थित एक ह्याङ्गरमा हालै यस विमानको प्रदर्शन गरिएको थियो । विशाल ड्रोनजस्तै देखिने ‘म्याट्रिक्स’ करिब पाँच टन तौलको इभिटिओएल विमान हो, जसले भविष्यमा सहरभित्रको हवाई ट्याक्सी सेवाको सम्भावनालाई सङ्केत गरेको छ ।
सन् २०१७ मा स्थापना भएको चिनियाँ कम्पनी अटोफ्लाइटले यो विमान विकास गरेको हो । कम्पनीका अनुसार म्याट्रिक्सले एकपटकमा १० जनासम्म यात्रु बोक्न सक्छ । यसको पखेटाको फैलावट करिब २० मिटर (लगभग ६६ फिट) छ भने विमानको लम्बाइ १७.१ मिटर र उचाइ ३.३ मिटर रहेको छ । पूर्ण रूपमा चार्ज गरिएको अवस्थामा यसले करिब एक घण्टासम्म उडान भर्न सक्ने क्षमता राख्छ ।
अटोफ्लाइटले एसोसिएटेड प्रेसका लागि आफ्नो कम उचाइ उडान परीक्षण केन्द्रमा यसको प्रत्यक्ष उडान प्रदर्शन पनि गराएको थियो । चिसो दिनमा गरिएको उक्त प्रदर्शनमा कर्मचारीहरूले म्याट्रिक्सलाई ह्याङ्गरबाट हेलिप्याडमा सारेपछि उडानका लागि तयारी गरिएको थियो ।
आर्थिकन्यूज