काठमाडौं । मध्यपूर्वका देशहरूमा रोकिएका हवाई उडानहरू क्रमशः केही विमानस्थलबाट पुनः सञ्चालन हुन थालेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सो क्षेत्रमा अलपत्र परेका यात्रुलाई लक्षित गर्दै केही वायुसेवा कम्पनीहरूले सीमित उडान सञ्चालन गर्ने तयारी गरेका छन्। ती उडानहरू मध्यपूर्वका केही विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही विमानस्थलसम्म जाने (कनेक्टिङ वा ट्रान्जिट बाहेक) रहने जनाइएको छ।
नागरिक उड्डयन कार्यालयले बिहीबार जारी गरेको सूचनामा मध्यपूर्व क्षेत्रमा उडान प्रतिबन्धका कारण धेरै अन्तर्राष्ट्रिय उडानहरू स्थगित वा रद्द भइरहेकाले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
कार्यालयले यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीसँग समन्वय गरी आफ्नो टिकट वा बुकिङ कन्फर्म गरेपछि मात्र विमानस्थलमा आउन अनुरोध गरेको छ। साथै मध्यपूर्वका देशहरू तथा त्यहाँबाट ट्रान्जिट हुँदै तेस्रो मुलुक जाने यात्रुहरूले पनि वायुसेवा कम्पनीसँग आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
आर्थिकन्यूज