काठमाडौं । काठमाडौँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शनाले प्रभावशाली जित हासिल गरेकी छन्। उनले १५ हजार ४५५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई ९ हजार ९१ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्।
उनकी मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा ६ हजार ३६४ मतसहित दोस्रो स्थानमा रहे। उपत्यकाभित्र कांग्रेसका लागि सुरक्षित मानिने यस क्षेत्रमा पनि पार्टीले अघिल्ला दुई निर्वाचनको नतिजा जोगाउन सकेन। २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मतसहित विजयी भएका थिए।
यसैगरी नेकपा एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत प्राप्त गरे। अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार किरण पौडेलले ३ हजार ५३२ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए।
त्यस्तै नेकपाकी उम्मेदवार मेनुका भण्डारीले ३४५ मत मात्रै पाइन्। उनको निर्वाचन परिचालनका लागि ५०१ सदस्यीय कमिटी बनाइएको भए पनि उनले त्यति मतसमेत जुटाउन सकिनन्। सो क्षेत्रमा नेकपाभन्दा श्रम संस्कृति पार्टीका समीर लामाले बढी मत प्राप्त गर्दै ४२६ मत ल्याएका छन्।
आर्थिकन्यूज