शीर्षकहरू

देशभर १३३ क्षेत्रमा मतगणना जारी: १०१ सिटमा रास्वपाको अग्रता

देशभर १३३ क्षेत्रमा मतगणना जारी: १०१ सिटमा रास्वपाको अग्रता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता बनाएको छ। हालसम्म मतगणना भइरहेका १३३ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १०१ क्षेत्रमा अग्रता कायम गरेको छ।

यसअघि मुस्ताङबाट नेपाली कांग्रेस विजयी भइसकेको छ। रास्वपाले भने मधेस प्रदेशमा मतगणना भइरहेका २६ वटै क्षेत्रमा अग्रता बनाएको छ। झापा र मोरङका सबै ११ क्षेत्रमा पनि रास्वपाकै अग्रता रहेको छ।

यस्तै सुनसरीका २ र उदयपुरको १ क्षेत्रमा पनि रास्वपा अघि छ। बागमती प्रदेशमा सिन्धुली–२, सिन्धुपाल्चोक–१, काभ्रेपलाञ्चोक–२, नुवाकोटका दुवै क्षेत्र, धादिङ–१, मकवानपुर–२ र चितवनका तीनवटै क्षेत्रमा रास्वपाले अग्रता लिएको छ।

गण्डकी प्रदेशमा तनहुँका दुवै क्षेत्र, कास्कीका तीनवटै क्षेत्र, गोरखा–२, स्याङ्जा–१, पर्वत–१, बाग्लुङका दुवै क्षेत्र तथा नवलपरासीका दुवै क्षेत्रमा पनि रास्वपाको अग्रता कायम छ।

लुम्बिनी प्रदेशमा गुल्मीका दुवै क्षेत्र, पाल्पा–१, रुपन्देही–१, २, ३ र ५, अर्घाखाँची–१, कपिलवस्तु–१, दाङ–१, २ र ३, बर्दियाका १ र २ तथा बाँके–१ र ३ मा रास्वपा अघि रहेको छ।

यस्तै नवलपरासी पश्चिमका १ र ३, कर्णाली प्रदेशको सुर्खेत–२ तथा सुदूरपश्चिममा कैलाली–१ र ५, कञ्चनपुरका तीनवटै क्षेत्र, डडेलधुरा र बैतडीमा पनि रास्वपाले अग्रता लिएको छ।

यसैबीच नेपाली कांग्रेसले १२ क्षेत्रमा अग्रता बनाएको छ। कोशी प्रदेशको ताप्लेजुङ, बागमतीको ललितपुर–१ र सिन्धुपाल्चोक–२, गण्डकीका लमजुङ र मनाङ, लुम्बिनीका पाल्पा–२, कपिलवस्तु–३ र प्यूठानमा कांग्रेस अघि छ। कर्णालीका सुर्खेत–१, दैलेख–१ र जाजरकोट–१ मा पनि कांग्रेसको अग्रता छ।

नेकपा एमालेले ९ क्षेत्रमा अग्रता बनाएको छ। कोशीका इलाम–२, तेह्रथुम र ओखलढुंगा, बागमतीको सिन्धुली–१, गण्डकीको नवलपरासी पूर्व–२, लुम्बिनीका रुपन्देही–४ र बाँके–२ तथा कर्णालीका दैलेख र डोटीमा एमाले अघि छ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि ९ क्षेत्रमा अग्रता कायम गरेको छ। बागमतीका काभ्रेपलाञ्चोक–१ र धादिङ–२, लुम्बिनीका कपिलवस्तु–२, रोल्पा र रुकुमपूर्वमा नेकपाको अग्रता छ। कर्णालीका सल्यान र कालिकोट तथा सुदूरपश्चिमका अछाम, कैलाली–२ र कैलाली–३ मा पनि नेकपा अघि रहेको छ।

यस्तै म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन र जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अग्रतामा छन्। कतिपय क्षेत्रमा कडा प्रतिस्पर्धा देखिए पनि अधिकांश स्थानमा रास्वपाका उम्मेदवार अग्रता कायमै राख्दै जीतउन्मुख देखिएका छन्।