शीर्षकहरू

समानुपातिक मतगणना सुरु : रास्वपा अगाडि, एमाले चौथो स्थानमा

समानुपातिक मतगणना सुरु : रास्वपा अगाडि, एमाले चौथो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फ पनि मतगणना सुरु भएको छ। प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा देखिएको छ भने नेकपा एमाले चौथो स्थानमा पुगेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म गनिएको ११ हजार १५४ मतमध्ये रास्वपाले ६ हजार ६०५ मत प्राप्त गरेको छ। नेपाली कांग्रेस २ हजार १३० मतसहित दोस्रो स्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ हजार १३ मतसहित तेस्रो स्थानमा रहँदा एमाले ६०७ मतसहित चौथो स्थानमा देखिएको छ।

अन्य दलमध्ये श्रम संस्कृति पार्टीले २२२ मत, नेपाली कम्युनिस्ट पार्टीले १७९ मत र राष्ट्रिय परिवर्तन पार्टीले १३३ मत प्राप्त गरेका छन्। नेपाल जनता संरक्षण पार्टीले ५८ मत ल्याएको छ भने नेपाल मजदुर किसान पार्टीले ३३ र प्रगतिशील लोकतान्त्रिक पार्टीले ३२ मत पाएका छन्।

जनमत पार्टीले ११ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा (माओवादी केन्द्र) ले समान ५–५ मत पाएका छन्। राष्ट्रिय जनमोर्चा र नेकपा (माले) ले ८–८ मत प्राप्त गरेका छन्।

यसैबीच केही दलले भने हालसम्म मत पाउन सकेका छैनन्। प्रारम्भिक चरणमा काठमाडौँ–१ बाट मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ। अन्य क्षेत्रको मत पनि क्रमशः गणना हुँदै जानेछ।