भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजीव खत्रीले ११ हजारभन्दा बढी मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। हालसम्मको परिणामअनुसार खत्रीले ११,०४९ मत ल्याएका छन् भने नेकपा एमालेका महेश बस्नेतले ३,११६ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका कविर राणाले १,५०३ मत ल्याएका छन्। पत्रकारिताबाट करिब २० वर्षको अनुभवपछि राजनीतिमा प्रवेश गरेका खत्री अहिले अग्रस्थानमा छन्। एमालेका सचिवसमेत रहेका बस्नेत यसअघि २०७९ सालको निर्वाचनमा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापासँग पराजित भएका थिए। तर २०७४ सालको निर्वाचनमा भने उनी यही क्षेत्रबाट विजयी भएका थिए।
२०३१ साल माघमा भक्तपुरमा जन्मिएका बस्नेत २०४९ सालमा एमालेको साधारण सदस्य बनेका थिए। त्यसयता पार्टीभित्र निरन्तर सक्रिय रहँदै उनी अध्यक्ष केपी शर्मा ओलीका ‘खास पात्र’ मानिन्छन्। जेनजी आन्दोलनपछि एमालेको तर्फबाट सार्वजनिक प्रतिक्रिया दिने पहिलो व्यक्ति पनि उनी नै थिए।
विपक्षीप्रति खरो टिप्पणी गरेर चर्चामा आउने बस्नेत सूर्यविनायक नगरपालिका–७ का स्थायी बासिन्दा हुन्। कानुनमा स्नातकसम्म अध्ययन गरेका उनले २०५४ सालको स्थानीय निकाय निर्वाचनमा गुण्डु गाविस अध्यक्षमा निर्वाचित हुँदै राजनीतिक यात्रा सुरू गरेका थिए।
आर्थिकन्यूज