काठमाडौं । राप्रपा नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो हार स्वीकार गरेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले हार स्वीकार गरेको बताएका हुन् । उनले विजयोन्मुख सस्मित पोखरेललाई बधाई दिँदै रास्वपाले देशभर उल्लेखनीय सफलता हासिल गरेकोमा शुभकामना व्यक्त गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार यस क्षेत्रमा सस्मितले १९ हजार २२७ मत प्राप्त गरिसकेका छन् । कमल थापाले ११५७ मत पाएका छन् र चौथो स्थानमा छन् ।थापाले ‘हलो’ चुनाव चिह्नमा मतदान गर्ने मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै चुनावी अभियानमा सक्रिय सबै राप्रपा कार्यकर्तालाई धन्यवाद दिएका छन् ।
साथै उनले चुनावी परिणामबाट विचलित नभई आत्मसमीक्षा गर्दै पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन् । उनले हार–जित चुनावको स्वाभाविक प्रक्रिया भए पनि हिन्दू राष्ट्र र राजसंस्थाको महत्व नेपाल रहुन्जेल कायम रहने धारणा व्यक्त गरेका छन् ।
आर्थिकन्यूज