काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो लहर देखाएको छ।
निर्वाचन आयोगका अनुसार शनिबार बिहानसम्म रास्वपाले १६ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १०० भन्दा बढी क्षेत्रमा अग्रता कायम गरेको छ।
त्यसैगरी नेपाली कांग्रेसले ४ क्षेत्रमा जित निकालेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २ क्षेत्रमा विजय प्राप्त गरेको छ। कांग्रेसले करिब १० क्षेत्रमा अग्रता लिएको छ भने नेकपा १३ क्षेत्रमा अगाडि रहेको छ।
नेकपा एमालेले १ क्षेत्रमा जित निकाल्दै १० क्षेत्रमा अग्रता कायम गरेको छ। यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि ५ क्षेत्रमा अग्रता देखाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा फागुन २१ गते मतदान भएको थियो। हाल अधिकांश स्थानमा मतगणना जारी छ। हालसम्म २५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ।
रास्वपाले जितेका प्रमुख निर्वाचन क्षेत्र
प्रारम्भिक परिणाम अनुसार रास्वपाले विभिन्न महत्वपूर्ण क्षेत्रमा उल्लेखनीय जित हासिल गरेको छ।
धनुषा–३: मनिष झाले कांग्रेसका बिमलेन्द्र निधि र एमालेकी जुली कुमारी महतोलाई पराजित गर्दै ४३ हजार १४२ मतसहित विजयी।
कास्की–३: बिना गुरुङ ३७ हजार ७५० मतसहित निर्वाचित।
काठमाडौं–१०: प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी।
मोरङ–४: सन्तोष राजवंशीले कांग्रेस नेता गुरुराज घिमिरेलाई फराकिलो मतान्तरले पराजित।
कास्की–२: उत्तमप्रसाद पौडेल २४ हजारभन्दा बढी मतान्तरसहित विजयी।
काठमाडौं–५: सस्मित पोखरेलले प्रदीप पौडेल, ईश्वर पोखरेल र कमल थापाजस्ता चर्चित उम्मेदवारलाई हराए।
काठमाडौं–४: पुकार बम निर्वाचित।
काठमाडौं–६: शिशिर खनाल २७ हजार ७११ मतसहित विजयी।
काठमाडौं–८: विराजभक्त श्रेष्ठ पुनः निर्वाचित।
काठमाडौं–३: राजुनाथ पाण्डे निर्वाचित।
काठमाडौं–१: रञ्जु न्यौपाने (दर्शना) विजयी।
काठमाडौं–९: डोलप्रसाद अर्याल फराकिलो मतान्तरसहित निर्वाचित।
मोरङ–६: रुबिना आचार्यले कांग्रेस नेता डा. शेखर कोइरालालाई पराजित गर्दै जित।
बाँके–१: सुरेशकुमार चौधरी निर्वाचित।
स्याङ्जा–१: धनञ्जय रेग्मी विजयी।
रुपन्देही–४: कन्हैया बनियाँ निर्वाचित।
कांग्रेसका जित
हालसम्म नेपाली कांग्रेसले मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ गरी चार क्षेत्रमा विजय हासिल गरेको छ।
नेकपा र एमालेको अवस्था
नेपाली कम्युनिस्ट पार्टीले रुकुम पूर्व–१ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कालिकोट–१ बाट महेन्द्रबहादुर शाहीलाई जिताएको छ।
नेकपा एमालेले भने बाँके–२ बाट मोहम्मद इश्तियाक राईमार्फत पहिलो जित हासिल गरेको छ।
मतगणना जारी
देशका धेरै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक नतिजाले भने नयाँ शक्तिका रूपमा उदाएको रास्वपाप्रति मतदाताको आकर्षण देखाएको विश्लेषण गरिएको छ।
आर्थिकन्यूज