शीर्षकहरू

अमेरिका-इजरायल आक्रमणपछि कच्चा तेलको भाउ बढ्यो, नेपालमा पेट्रोलियम पदार्थ महँगिने संकेत

अमेरिका-इजरायल आक्रमणपछि कच्चा तेलको भाउ बढ्यो, नेपालमा पेट्रोलियम पदार्थ महँगिने संकेत

काठमाडौं। मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा बढेको छ। अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य उकालो लागेको हो।

शनिबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिव्यारेल १०३.२ डलर पुगेको अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्बन्धी वेबसाइट आयलप्राइस डटकमले जनाएको छ।

मुरबान क्रुडको मूल्य करिब ९.२४ प्रतिशतले वृद्धि भएको छ। यस्तै ब्रेन्ट क्रुडको मूल्य ८.५२ प्रतिशत बढेर प्रतिव्यारेल ९२.६९ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) को मूल्य १२.२१ प्रतिशत बढेर ९०.९० डलरसम्म पुगेको छ।

मध्यपूर्वमा जारी युद्ध लम्बिएमा तेलको मूल्य सन् २०२२ को रेकर्डभन्दा पनि माथि जान सक्ने अनुमान गरिएको छ। रुस–युक्रेन युद्ध सुरु हुँदा कच्चा तेलको मूल्य प्रतिव्यारेल १४० डलरसम्म पुगेको थियो। त्यसपछि भने क्रमशः घटेर ५५ डलरसम्म झरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर बढिरहेकाले यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टका अनुसार आपूर्तिमा तत्काल समस्या नआए पनि मूल्यमा भने दबाब पर्न सक्नेछ।

गत शनिबार बिहानदेखि अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण तीव्र पारेका छन्। इरानको राजधानी तेहरानसहित विभिन्न क्षेत्रमा भीषण आक्रमण भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणको जवाफमा इरानले कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, साउदी अरेबिया, जोर्डन तथा इजरायलतर्फ मिसाइल प्रहार गरेको बताइएको छ।

यस घटनापछि मध्यपूर्व क्षेत्रमा हवाई उडान अवरुद्ध हुनुका साथै समुद्री यातायातसमेत प्रभावित भएको छ। युद्ध लम्बिएमा तेल उत्पादन तथा आपूर्तिमा ठूलो असर पर्ने विश्लेषकहरूले बताएका छन्।

विशेषगरी विश्वको एकतिहाइभन्दा बढी कच्चा तेलको व्यापार हुने पर्सियन खाडी क्षेत्रको हर्मुज जलडमरू मार्ग प्रभावित भएपछि विश्व बजारमा तेल आपूर्तिको चिन्ता बढेको छ। यो मार्ग बन्द भए साउदी अरेबियालगायत प्रमुख तेल उत्पादक देशबाट हुने आपूर्तिमा असर पर्न सक्छ।

यसअघि यो वर्ष विश्व तेल बजार अपेक्षाकृत कमजोर रहने अनुमान गरिएको थियो। तर अमेरिका–इरान तनावले ती प्रक्षेपणहरू परिवर्तन हुन सक्ने देखिएको छ।

तेल कम्पनीहरूले सन् २०२६ को अन्त्यसम्म वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) को मूल्य प्रतिव्यारेल करिब ६२ डलर रहने अनुमान गरेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०२५ मा ब्रेन्ट क्रुडको औसत मूल्य प्रतिव्यारेल ६५.३२ डलर हुने अनुमान गरेको थियो।

एजेन्सीका अनुसार सन् २०२६ मा ब्रेन्ट क्रुडको औसत मूल्य ५५.०८ डलर तथा डब्लुटिआईको औसत ५१.४२ डलर रहने अपेक्षा गरिएको छ।

दीर्घकालीन रूपमा सन् २०२७ र २०२८ मा कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ६९ डलर तथा २०२९ र २०३० सम्ममा करिब ७५ डलरसम्म पुग्ने अनुमान गरिएको छ।

कच्चा तेलको मूल्यसँगै विश्व बजारमा सुन र अमेरिकी डलरको भाउ पनि बढ्दै गएको छ। यसले विश्वव्यापी रूपमा महँगी बढ्ने सम्भावना देखिएको छ।