काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमै स्पष्ट अग्रता बनाएको छ।
देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट प्राप्त विवरणअनुसार करिब ४५ हजार मत गणना हुँदा रास्वपाले आधाभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगले बिहान साढे ८ बजेसम्म सार्वजनिक गरेको तथ्यांक अनुसार रास्वपाले कुल सदर मतको करिब ५७ प्रतिशत मत हासिल गरेको देखिएको छ।
यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले करिब १८ प्रतिशत मत पाएको छ। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने करिब ८–८ प्रतिशत मतसहित नजिक–नजिक देखिएका छन्। यी दुई दलबीच हाल करिब ५० मतको मात्रै अन्तर रहेको बताइएको छ।
निर्वाचन आयोगले देशभरबाट प्राप्त विवरण संकलन गर्दै मतपरिणाम अद्यावधिक गरिरहेको छ। हाल सार्वजनिक भएको विवरण प्रारम्भिक भएकाले कुल खसेको मतको एक प्रतिशतभन्दा पनि कम मत मात्रै गणना भएको अवस्थामा यो आँकडा आएको हो।
अहिलेसम्मको गणनामा रास्वपा, कांग्रेस, एमाले र राप्रपाबाहेक अन्य दलले ३ प्रतिशत मत कटाउन सकेका छैनन्। समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभामा सिट पाउन कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।
आर्थिकन्यूज