काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता कायम गरेको छ। बिहान १०ः१५ बजेसम्म प्राप्त परिणामअनुसार रास्वपाले २७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने थप ९० क्षेत्रमा अग्रता बनाएको छ।
निर्वाचन आयोगका अनुसार रास्वपाबाट मोरङ–४ मा सन्तोष राजवंशी, मोरङ–६ मा रुविना आचार्य, धनुषा–३ मा मनिष झा, महोत्तरी–१ मा प्रमोदकुमार महतो, बारा–३ मा अरविन्द साह, पर्सा–१ मा बुद्धिप्रसाद पन्त विजयी भएका छन्।
यसैगरी काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा रास्वपाले जित निकालेको छ। काठमाडौं–१ मा रञ्जु न्यौपाने, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डोलप्रसाद अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट निर्वाचित भएका छन्।
त्यस्तै भक्तपुर–१ बाट रुकेश रञ्जित विजयी भएका छन्।
अन्य क्षेत्रमा चितवन–२ बाट रवि लामिछाने, कास्की–२ बाट उत्तमप्रसाद पौडेल, कास्की–३ बाट वीना गुरुङ, स्याङ्जा–१ बाट धनन्जय रेग्मी, पर्वत–१ बाट सागर भुसाल, रुपन्देही–२ बाट सुलभ खरेल, रुपन्देही–३ बाट डा. लेखजङ्ग थापा, रुपन्देही–४ बाट कन्हैया बनिया, बाँके–१ बाट सुरेशकुमार चौधरी, बाँके–३ बाट खगेन्द्र सुनार र कैलाली–१ बाट कोमल ज्ञवाली निर्वाचित भएका छन्।
आयोगका अनुसार हालसम्म ३४ निर्वाचन क्षेत्रमा अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रमा मतगणना जारी रहेको छ।
नेपाली कांग्रेसले हालसम्म चार क्षेत्रमा विजय हासिल गरेको छ। तेह्रथुम–१ मा सन्तोष सुब्बा, मनाङ–१ मा टेकबहादुर गुरुङ, मुस्ताङ–१ मा योगेश गौचन थकाली र दैलेख–१ मा बासना थापा निर्वाचित भएका छन्। कांग्रेसका उम्मेदवार थप १० क्षेत्रमा अग्रता लिइरहेका छन्।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व–१ बाट विजयी भएका छन् भने सो पार्टीका उम्मेदवार ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन्।
नेकपा एमालेबाट बाँके–२ मा मोहम्मद इस्तियाक राई विजयी भएका छन् भने एमालेका उम्मेदवार १० क्षेत्रमा अग्रता कायम गरेका छन्।
यसैगरी म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। उनलाई रास्वपाले समर्थन गरेको थियो।
हालको मतगणनाअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार एक क्षेत्रमा अग्रस्थानमा रहेका छन्।
आर्थिकन्यूज