शीर्षकहरू

गण्डकीका १८ क्षेत्र : ८ वटामा रास्वपा विजयी, ५ मा अग्रता

गण्डकीका १८ क्षेत्र : ८ वटामा रास्वपा विजयी, ५ मा अग्रता

काठमाडौं । गण्डकी प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टी वर्चश्व जनाएको छ । १८ निर्वाचन क्षेत्र रहेको सो प्रदेशको कम्तीमा १४ क्षेत्रमा रास्वपाले जित हासिल गर्ने सम्भावना रहेको देखिन्छ ।

हालसम्मको नतिजा अनुसार ८ क्षेत्रमा रास्वपाले जित हासिल गरिसकेको छ । यस्तै, ५ क्षेत्रमा रास्वपा अगाडि रहेको छ । २ क्षेत्रमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेकपा एमालेले १ क्षेत्रमा अग्रता कायम गरेको छ । एक क्षेत्र अर्थात् म्याग्दीमा भने स्वतन्त्र उम्मेदवारी दिएका डा. महावीर पुनले जित हासिल गरेका छन् । 

११ जिल्ला रहेको यस प्रदेशको एक क्षेत्रमा भने मत गणना सुरु नै भएको छैन । विगतमा एमाले र कांग्रेसको पकड रहेको गण्डकीमा यस पटक भने रास्वपा हाबी भएपछि अन्य पार्टीहरुको लज्जासपद हार देखिएको छ । 

यी हुन् रास्वपाले जित हासिल गरेका गण्डकीका ८ क्षेत्र

शनिबार दिउँसो १२ः३० बजेसम्मको मतगणना अनुसार रास्वपाले कास्की १, कास्की २, कास्की ३, स्याङ्जा १, पर्वत, बाग्लुङ १, बाग्लुङ २ र नवलपुर १ मा जित हासिल गरिसकेको छ । 

कास्की १ मा रास्वपाका खड्कराज पौडेल ३३ हजार ९६८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ९ हजार ८२७ मत ल्याउँदा एमालेका बैनबहादुर क्षेत्री (अधिकारी) ले ९ हजार ३३७ मत ल्याएका छन् । 

यस्तै, कास्की २ मा रास्वपा उत्तम प्रसाद पौडेल ३१ हजार ९१२ मतका साथ विजयी हुँदा कांग्रेसका माधव प्रसाद बास्तोलाले ७ हजार ४९३ र एमालेका रश्मि आचार्यले ६ हजार ५०० मत ल्याएका छन् । 

कास्की ३ मा रास्वपाकी विना गुरुङले ३७ हजार ७५० मत ल्याएर विजयी भएकी छिन् । जहाँ कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० र एमालेका दामोदर पौडेल वैरागीले ७ हजार ९०६ मत ल्याएका छन् । 

स्याङ्जा १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन् । उनले २९ हजार ७१ मत ल्याउँदा कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ र एमालेका मिनप्रसाद गुरुङले १६ हजार ८०४ मत ल्याएका छन् ।

पर्वतमा रास्वपाका सागर भुसालले २६ हजार ५६१ मत ल्याउँदै विजयी हुँदा कांग्रेसका अर्जुन प्रसाद जोशी १५ हजार ९५४ मत ल्याएका छन् । एमालेका पदम गिरीले १५ हजार ७४ मत पाएका छन् । 

त्यसैगरी, बाग्लुङ १ मा रास्वपाका सुशील खड्का, बाग्लुङ २ मा सोम शर्मा र नवलपुर १ मा राजन गौतम विजयी भएका छन् । 

रास्वपा अगाडि रहेका ५ क्षेत्र 

लमजुङमा रास्वपा धर्मराज केसी करिब दोब्बर मतले अगाडि रहेका छन् । उनले २७ हजार ४०९ मत ल्याउँदा कांग्रेसका गमप्रसाद गुरुङले १४ हजार ४३७ र एमालेका पृथ्वी सुब्बा गुरुङले  १४ हजार ४३७ मत ल्याएका छन् । गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन् । 

तनहुँ १ मा रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्ले ३४ हजार २५४ मतका साथ अगाडि रहेका छन् । कांग्रेसका गोविन्द भट्टराईले १४ हजार ६१९ मत ल्याएका छन् । यस्तै, तनहुँ २ मा रास्वपाका श्रीराम न्यौपाने २९ हजार ३२४ मत सहित अगाडि रहँदा कांग्रेसका शंकर भण्डारीले ९ हजार ४९७ र एमालेका केदार सिग्देलले ६ हजार ७४८ मत ल्याएका छन् ।

नवलपुर २ मा रास्वपाका मनिष खनालले ३४ हजार ८२ मत ल्याउँदा एमालेका तिल बहादुर महत १२ हजार ८२३ र कांग्रेसका ओमबहादुर घर्ती १२ हजार ११६ मत ल्याएका छन् । 
गोर्खा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटीले ६ हजार ४९८ मत ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले २ हजार २८१ मत ल्याएका छन् । 

गण्डकीमा अन्य दलको अवस्था ?

नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हासिल गरेको छ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ३०७ मत ल्याएर जित हासिल गर्दा एमालेका इनद्रधारा डादु विष्टले १ हजार ८०६ मत ल्याएका छन् । रास्वपाका अधितीय चन्द्र थकाली ७५९ मतमा सीमित भएका छन् । 

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीकी यशोदा गुरुङले ४५४ मत ल्याएकी छन् । 

स्याङजा २ मा एमालेको अग्रता रहेको छ । जहाँ एमालेका खिम बहादुर थापाले ९ हजार ७५ मत ल्याएका छन् । उनलाई पछ्याउँदै रास्वपाका झविलाल डुम्रेले ८ हजार १६ मत ल्याएका छन् । यता, कांग्रेसका भागवत प्रकाश मल्लले ७ हजार ३३२ मत ल्याएका छन् । 

म्याग्दीमा डा. महावीर पुनले २२ हजार ८५० मत सहित जीत हासिल गर्दा एमालेका हरि कृष्ण श्रेष्ठले ७ हजार ९१९ र कांग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६७६ मत ल्याएका छन् । 

गोर्खा १ मा मतगणना सुरु भएकै छैन ।