काठमाडौँ । निर्वाचन क्षेत्र नम्बर ९ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद (डीपी) अर्यालले आफ्नो प्रतिस्पर्धा कुशासन र भ्रष्टाचारसँग हुने बताएका छन्। निर्वाचन कार्यालयबाट विजयको प्रमाणपत्र लिएपछि मतदातालाई सम्बोधन गर्दै उनले अब मुलुक समृद्धितर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे।
“यो जित यस क्षेत्रका सबै मतदाताको हो। म सम्पूर्ण मतदाता र मेरा प्रतिस्पर्धी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। हामी यो चुनावी यात्रामा सँगसँगै हिँड्यौँ। उहाँहरू मेरा सहयात्री हुनुहुन्छ। मेरो प्रतिस्पर्धा भनेको भ्रष्टाचारीसँग मात्रै हो,” उनले भने।
अर्यालले यो निर्वाचन हालसम्मकै विशेष निर्वाचन भएको पनि बताए। “यसअघि पनि यस्तो निर्वाचन भएको थिएन, आगामी दिनमा पनि हुने छैन। जनताले मुलुकमा सुशासन चाहेका छन्, जुन आफ्नाे मतमार्फत प्रमाणित पनि गरेका छन्,” उनले भने।
“हामी केवल राजनीति गर्न आएका होइनौँ। प्रधानमन्त्री, मन्त्री र नेता मात्रै बन्न पनि आएका होइनौँ। हामी मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउन आएका हौँ,” उनले भने।
अर्यालले काठमाडौँ क्षेत्र नम्बर ९ मा जनताले अनुभूति गर्ने गरी न्यायपूर्ण काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। “गोर्खालीले हार्न जान्दैन। म पनि हार्न नजान्ने गोर्खाली हुँ। हाम्रो जित भनेकै भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना हो,” उनले भने।
३५ हजार ९३ मत ल्याएर अर्याल काठमाडौँ–९ बाट निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत ल्याएकी छन्। काठमाडौँमा सबैभन्दा ठूलो मतान्तरले विजयी हुने उम्मेदवार पनि अर्याल नै बनेका छन्। उनी २९ हजार ६३३ मतान्तरले विजयी भएका हुन्।
उनले निर्वाचन सम्पन्न गराउन खटिएका निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद दिँदै समानुपातिक मत गणनामा पनि सहकार्य गर्न सबैसँग आग्रह गरेका छन्।





आर्थिकन्यूज