शीर्षकहरू

समानुपातिक : २ लाख २५ हजार गणना हुँदा रास्वपालाई ५७ प्रतिशत, नेकपा भन्दा राप्रपा अगाडि

समानुपातिक : २ लाख २५ हजार गणना हुँदा रास्वपालाई ५७ प्रतिशत, नेकपा भन्दा राप्रपा अगाडि

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमै स्पष्ट अग्रता बनाएको छ।

देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट प्राप्त विवरणअनुसार करिब २ लाख २५ हजार मत गणना हुँदा रास्वपाले आधाभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको तथ्यांक अनुसार रास्वपाले कुल सदर मतको करिब ५६.६२ प्रतिशत मत हासिल गरेको देखिएको छ।

यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले करिब १७ प्रतिशत मत पाएको छ। नेकपा एमालेले १२.८०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिष्ट पार्टीले भने करिब ४.८०/४.८० प्रतिशत मत पाएका छन् । यी दुई दलबीच हाल करिब १७० मतको मात्रै अन्तर रहेको बताइएको छ।

जहाँ नेकपा भन्दा राप्रपा अगाडि रहेको छ । राप्रपाले १० हजार ९६२ मत पाउँदा नेकपाले १० हजार ७९४ मत पाएको छ ।  कांग्रेसले ३८ हजार ३४३ र एमालेले २८ हजार ७२१ मत पाएका छन् । जहाँ रास्वपाले १ लाख २७ हजार मत पाएको छ । यता, श्रम संस्कृति पार्टीले ६ हजार ४७४ मत पाएको छ । अर्थात् यस पार्टीले कुल सदर मतको २.८८ मत पाएको छ ।

नेपाल किसान मजदुर पार्टी सहित अन्य दलले २ हजार मत पाएका छन् । 

निर्वाचन आयोगले देशभरबाट प्राप्त विवरण संकलन गर्दै मतपरिणाम अद्यावधिक गरिरहेको छ। हाल सार्वजनिक भएको विवरण प्रारम्भिक भएकाले कुल खसेको मतको एक प्रतिशतभन्दा पनि कम मत मात्रै गणना भएको अवस्थामा यो आँकडा आएको हो।

समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधिसभामा सिट पाउन कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।