शीर्षकहरू

समानुपातिक मतमा पनि रास्वपाको दबदबा, कांग्रेस–एमाले धेरै पछाडि

समानुपातिक मतमा पनि रास्वपाको दबदबा, कांग्रेस–एमाले धेरै पछाडि

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फको मतगणनामा पनि स्पष्ट अग्रतामा देखिएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म २ लाख ६३ हजार ९०५ मत गणना सम्पन्न भएको छ। यसमध्ये रास्वपाले १ लाख ४२ हजार ६३३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।

पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको भए पनि उसले हालसम्म ४३ हजार ५६४ मत मात्रै पाएको छ। त्यस्तै, नेकपा एमाले समानुपातिक मतमा तेस्रो स्थानमा रहेको छ। एमालेले हालसम्म ३२ हजार ७१० मत प्राप्त गरेको छ।

राजावादी धारको राप्रपा चौथो स्थानमा रहेको छ। राप्रपाले १२ हजार ३४८ मत ल्याएको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा राप्रपाभन्दा पनि पछि परेको छ। उक्त पार्टीले हालसम्म १२ हजार ३२० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

यसैबीच, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ६ हजार ८६१ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ४ हजार ५१९ मत ल्याएको छ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको थियो। त्यसपछि क्रमशः नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपा थिए।

तर हालको मतपरिणामले भने नयाँ दल रास्वपातर्फ मतदाताको समर्थन बढ्दै गएको संकेत देखाएको विश्लेषकहरूले बताएका छन्।