रियाद। साउदी अरेबियाले इरानलाई ‘गलत गणना नगर्न’ कडा चेतावनी दिएको छ। इरानबाट मिसाइल र ड्रोन आक्रमणको प्रयास भएको भन्दै साउदीले क्षेत्रीय सुरक्षा र स्थिरतामा जोखिम बढ्न सक्ने जनाएको हो।
साउदीका रक्षामन्त्री प्रिन्स खालिद बिन सलमानले इरानलाई संयमता अपनाउन आग्रह गर्दै खाडी क्षेत्रमा तनाव बढाउने कुनै पनि गतिविधिबाट टाढा रहन चेतावनी दिए।
साउदी रक्षा मन्त्रालयका अनुसार पछिल्ला दिनहरूमा राज्यका विभिन्न स्थानलाई लक्षित गरी प्रक्षेपण गरिएका मिसाइल र ड्रोनहरू सफल हुन नदिई अवरोध गरिएको छ। तीमध्ये अमेरिकी सैन्य कर्मचारीहरू रहेको एक हवाई अड्डातर्फ लक्षित क्षेप्यास्त्र पनि समावेश रहेको मन्त्रालयले जनाएको छ।
अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि मध्यपूर्वमा क्षेत्रीय तनाव बढिरहेको छ। सोही सन्दर्भमा तेहरानले खाडी क्षेत्रभरि आक्रमण प्रयास गरिरहेको साउदी पक्षको दाबी छ।
विश्वकै प्रमुख तेल निर्यातकर्तामध्ये एक साउदी अरेबियाले यसै हप्ताको सुरुआतमा पूर्वी क्षेत्रमा रहेको रास तनुरा रिफाइनरीलाई लक्षित गरी कम्तीमा दुईवटा ड्रोन आक्रमण भएको जानकारी दिएको थियो।
यसबीच प्रिन्स खालिदले पाकिस्तानका सेनाप्रमुखसँग भेटवार्ता गरी क्षेत्रीय सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्समार्फत उक्त भेटबारे जानकारी दिँदै साउदी अरेबियाविरुद्ध भएका इरानी आक्रमणहरू र तिनलाई रोक्ने उपायबारे विचार आदान–प्रदान भएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार यस्ता आक्रमणहरूले क्षेत्रीय सुरक्षा र स्थिरतालाई कमजोर बनाउने भन्दै इरानले विवेकपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिइएको छ।
साउदी रक्षा मन्त्रालयले राजधानी रियादको दक्षिणपूर्वमा रहेको प्रिन्स सुल्तान एयर बेसतर्फ प्रक्षेपण गरिएको एक ब्यालेस्टिक मिसाइललाई अवरोध गरी नष्ट गरिएको जनाएको छ। पछि साउदी प्रेस एजेन्सीले सोही हवाई अड्डातर्फ अर्को क्षेप्यास्त्र प्रहार गरिएको तर त्यसलाई पनि सफलतापूर्वक रोकिएको रिपोर्ट गरेको छ।
समाचार एजेन्सीका अनुसार संयुक्त अरब इमिरेट्सको सीमाना नजिकै रहेको शायबाह तेल क्षेत्रलाई लक्षित गरी कम्तीमा १७ वटा ड्रोन आक्रमण गरिएको थियो। ती सबै ड्रोनहरू अवरोध गरी नष्ट गरिएको बताइएको छ।
यसका अतिरिक्त रियादको पूर्वी क्षेत्रमा लक्षित गरी प्रक्षेपण गरिएका दुईवटा ड्रोन पनि रोकिएको रक्षा मन्त्रालयले जनाएको छ। लगातार भइरहेका यस्ता प्रयासहरूले खाडी क्षेत्रको सुरक्षा अवस्थाबारे थप चिन्ता बढाएको अधिकारीहरूले बताएका छन्।
आर्थिकन्यूज