शीर्षकहरू

प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानमा महिला उम्मेदवार विजयी

प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा  हालसम्म ६ स्थानमा महिला उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् । साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत सहित विजयी भएकी छन् ।

यस्तै, दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भएकी छन् । यस्तै, रास्वपाकी सोविता गौतम चितवन–३ मा विजयी भएकी छन् । गौतम ५९ हजार २ सय ७७ मत सहित विजयी भएकी हुन् ।

जारी मतगणनामा रास्वपाकी डा तोसिमा कार्की (ललितपुर–३), इन्दिरा रानामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (कार्की) (सर्लाही–१), आशिका तामाङ (धादिङ–१), पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरीकुमारी (महोत्तरी-४)मा अग्रस्थानमा छन् ।
 
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल १०० स्थानमा मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कूल तीन हजार ४०६ मध्ये महिला उम्मेदवार ३८८ जना छन् ।