शीर्षकहरू

इजरायलद्वारा ईरानका तेल भण्डारमा आक्रमण, ट्रम्पको चेतावनी-“पूर्ण आत्मसमर्पण गर”

इजरायलद्वारा ईरानका तेल भण्डारमा आक्रमण, ट्रम्पको चेतावनी-“पूर्ण आत्मसमर्पण गर”

एजेन्सी । अमेरिका–इजरायल र ईरानबीच जारी युद्ध नवौँ दिनमा पुगेको छ। यसबीच इजरायलले ईरानका तेल भण्डारणसँग सम्बन्धित संरचनामाथि आक्रमण सुरु गरेको छ। इजरायली सञ्चारमाध्यम यनेटका अनुसार इजरायलले ईरानका करिब ३० इन्धन ट्याङ्क र विभिन्न तेल डिपोलाई निशाना बनाएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ईरानले पूर्ण रूपमा हार स्वीकार गर्नुपर्ने बताएका छन्। उनका अनुसार ईरानले युद्ध जारी राख्न नसक्ने अवस्थामा पुग्नुपर्छ वा अन्ततः आत्मसमर्पण गर्नुपर्छ। ट्रम्पले भनेका छन्, “या त ईरान आफैं आत्मसमर्पण गर्छ, वा उसको सैन्य क्षमता यति कमजोर बनाइनेछ कि उसले लड्न सक्ने अवस्था नै रहने छैन।”

उता इरानी सेनाले भने अमेरिकालाई चेतावनी दिएको छ। फारस खाडीमा अमेरिकी जहाज आएमा समुद्रमा डुबाइदिने धम्की इरानले दिएको छ। यो चेतावनी त्यतिबेला आएको हो जब ट्रम्पले अमेरिकी नौसेनाले चाँडै तेल ट्याङ्करहरूको सुरक्षाका लागि फारस खाडीमा जहाज पठाउन सक्ने बताएका थिए। ती तेल ट्याङ्करहरू प्रायः होर्मुज जलडमरू हुँदै आवतजावत गर्ने गर्छन्।

यसैबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ईरान आफ्ना छिमेकी देशहरूसामु झुकेको दाबी गरेका छन्। उनका अनुसार लगातार अमेरिकी र इजरायली आक्रमणको दबाबका कारण ईरानले छिमेकी देशहरूसँग माफी मागेको छ र अब उनीहरूमाथि आक्रमण नगर्ने वाचा गरेको छ।

ट्रम्पले ईरान अब मध्यपूर्वको शक्तिशाली देश नभई ‘हार्ने’ अवस्थामा पुगेको टिप्पणी गरेका छन्। उता इरानी राष्ट्रपति मसुद पेजेशकियनले हालै छिमेकी देशहरूमाथि भएका आक्रमणका लागि माफी माग्दै अब ती देशको भूमिबाट ईरानमाथि आक्रमण नभएसम्म हमला नगर्ने बताएका थिए। युद्धका कारण मध्यपूर्व क्षेत्रमा तनाव थप बढिरहेको छ र अन्तर्राष्ट्रिय समुदायले स्थिति नजिकबाट नियालिरहेको छ।