एजेन्सी । अमेरिका–इजरायल र ईरानबीच जारी युद्ध नवौँ दिनमा पुगेको छ। यसबीच इजरायलले ईरानका तेल भण्डार तथा रिफाइनरीसँग सम्बन्धित संरचनामाथि हवाई आक्रमण सुरु गरेको छ। इजरायली सञ्चारमाध्यम यनेटका अनुसार ईरानका ३० इन्धन ट्याङ्क र तीनवटा तेल डिपोलाई निशाना बनाइएको छ।
यसैबीच ईरानले पलटवार गर्दै पाँच देशमाथि आक्रमण गरेको जनाएको छ। ती देशहरूमा इजरायलका साथै कुवेत, साउदी अरब, बहरेन र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।
ईरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिका र इजरायलविरुद्ध कम्तीमा छ महिनासम्म युद्ध लड्न सक्ने क्षमता आफूहरूसँग रहेको दाबी गरेको छ। आईआरजीसीका प्रवक्ता अली मोहम्मद नैनीले ईरानी सेना र रिभोल्युसनरी गार्ड दुवै लामो समयसम्म संघर्ष गर्न सक्षम रहेको बताएका छन्।
उनका अनुसार मध्यपूर्व क्षेत्रमा अमेरिका र इजरायलसँग सम्बन्धित सैन्य अड्डा तथा अन्य संरचनासहित २०० भन्दा बढी स्थानलाई निशाना बनाइएको छ। यसै क्रममा इजरायलले शनिबार राति ईरानको राजधानी तेहरानमा रहेको तेल भण्डारण स्थलमाथि पनि आक्रमण गरेको जनाएको छ।
आर्थिकन्यूज