शीर्षकहरू

चार महीना अघि खुलेको श्रम संस्कृति तीन सिट जितेर पाँचौँ स्थानमा, कोशीमा मुख्य प्रतिस्पर्धी

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टी बन्ला राष्ट्रिय दल ?

चार महीना अघि खुलेको श्रम संस्कृति तीन सिट जितेर पाँचौँ स्थानमा, कोशीमा मुख्य प्रतिस्पर्धी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ मा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ। स्थापना भएको करिब चार महिनामै उक्त पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्दै राष्ट्रिय राजनीतिमा पाँचौँ शक्तिका रूपमा आफ्नो उपस्थिति देखाएको छ।

कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको श्रम संस्कृति पार्टी धेरै क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको थियो। अन्तिम परिणामअनुसार पार्टीले सुनसरी–१, खोटाङ र भोजपुरबाट विजय हासिल गरेको छ।

सुनसरी–१ मा पार्टी अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) ३५ हजार ७४१ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत ल्याउँदै दोस्रो स्थान हासिल गरिन्। यस क्षेत्रमा एमालेका टीकाराम लिम्बु तेस्रो बने।

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मत ल्याएर निर्वाचित भए। उनका मुख्य प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत पाए भने कांग्रेसका वीरकाजी राई ११ हजार ९५७ मतसहित तेस्रो स्थानमा रहे।

त्यस्तै भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई १६ हजार ६६३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राई, जो कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्, १४ हजार ७५० मतसहित दोस्रो स्थानमा रहे।

यद्यपि अन्य क्षेत्रमा पार्टीले जीत हासिल गर्न सकेन, तर धेरै स्थानमा बलियो प्रतिस्पर्धा देखियो। पाँचथर, इलाम–१, मोरङ–१ र उदयपुर–१ लगायतका क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवारहरू दोस्रो स्थानमा रहँदै मुख्य प्रतिस्पर्धी बने।

श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरे पनि हालसम्म अन्य कुनै क्षेत्रमा अग्रता लिएको छैन। त्यसैले थप सिट जित्ने सम्भावना भने लगभग समाप्त भएको देखिन्छ।

हालसम्मको नतिजा अनुसार श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ७१ हजार ५७१ मत प्राप्त गरेको छ। कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरू दोस्रो स्थानमा देखिनुले त्यहाँ उल्लेख्य जनसमर्थन रहेको संकेत गर्छ।

देशभर समानुपातिक मतगणना अझै जारी रहेकाले श्रम संस्कृति पार्टीले आवश्यक थ्रेसहोल्ड पार गर्ने सम्भावना भने जीवितै रहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार छोटो समयमै प्राप्त यो परिणामले श्रम संस्कृति पार्टीलाई क्षेत्रीय प्रभावबाट राष्ट्रिय राजनीतिक शक्तितर्फ उन्मुख हुने संकेत दिएको छ। विशेषगरी पार्टी अध्यक्ष हर्क साम्पाङको सामाजिक आन्दोलन र धरानमा स्थापित जनाधारले पार्टीलाई कोशी प्रदेशमा बलियो आधार दिएको मानिन्छ।

यद्यपि प्रतिनिधिसभामा सिट संख्या अझै सीमित रहेकाले आगामी दिनमा संगठन विस्तार, नीति निर्माण र राष्ट्रिय स्तरमा प्रभाव विस्तार गर्न सके मात्र पार्टी राष्ट्रिय दलको रूपमा स्थापित हुने सम्भावना रहेको विश्लेषण गरिएको छ।