काठमाडौँ। एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने म्याद थप गरेको छ। अब उक्त आईपीओमा चैत १० गतेसम्म आवेदन दिन सकिने भएको छ।
कम्पनीले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीको ५७ करोड रुपैयाँ जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएको छ।
त्यसमध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये ५० प्रतिशत (२ लाख ३५ हजार कित्ता) उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का बासिन्दालाई, ३० प्रतिशत (१ लाख ४१ हजार कित्ता) मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दालाई, २० प्रतिशत (९४ हजार कित्ता) न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का बासिन्दालाई बाँडफाँट गरिनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीलाई रेटिङ संस्थाले ‘डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना को कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत करिब २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र छुट दरमा लगानी फिर्ता अवधि १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले कम्पनीको आयोजना कार्यालय ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंक का किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा, नेपाल इन्भेष्टमेन्ट बैंक को खिजिदेम्बा (ओखलढुङ्गा) शाखा तथा सिटिजन्स बैंक को लिखुपिके (सोलुखुम्बु) शाखाबाट आवेदन दिन सक्नेछन्।
आर्थिकन्यूज