शीर्षकहरू

रास्वपाको जनमतलाई शेयर बजारको स्वागत, तेस्राे सर्किट लागेपछि कारोबार बन्द

रास्वपाको जनमतलाई शेयर बजारको स्वागत, तेस्राे सर्किट लागेपछि कारोबार बन्द

काठमाडौं । फागुन २१ गतेको चुनावमा रास्वपा प्रति देखिएको जन लहरलाई शेयर बजारले पनि स्वागत गरेको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत १६५ सिटमा १२५ सिट जितेर रास्वपाले स्पष्ट दुई तिहाइको जनमत पाएको छ । यस्तै, समानुपातिकमा पनि यस पार्टीले ५० प्रतिशतभन्दा बढी मत पाएको छ । दुवै प्रणाली अन्तर्गत रास्वपाले दुई तिहाइ सिट पाउने निश्चित प्रायः छ ।

रास्वपा प्रति जनताको यो लहर देखेर शेयर बजारका लगानीकर्ता पनि उत्साहित भएको देखिन्छ । जसका कारण चुनावपछि खुलेको पहिलो कारोबार दिनमा नै बजारमा उछाल आएको छ ।

चुनावपछि कारोबार भएको पहिलो दिन सोमबार शेयर बजार ६ प्रतिशत अर्थात् १६२.९३ अंकले बढेपछि बजार नै बन्द भएको छ । बजार खुलेको १ मिनेटमा नै ४ प्रतिशत वृद्धि भयो र २० मिनेटका लागि बजार स्थगित भयो । यस्तै, २० मिनेटको स्थगनपछि खुलेको १ मिनेटमा फेरि दोस्रो सर्किट ब्रेक लाग्यो । २१ मिनेटमा बजार ५ प्रतिशतले बढ्यो र थप ४० मिनेटका लागि स्थगित भयो । यसैगरी, ४० मिनेटपछि फेरि खुलेको बजारमा खुलेको १ मिनेटमा नै तेस्रो सर्किट ब्रेक अर्थात् ६ प्रतिशतले बजार बढ्यो । यससँगै सोमबारका लागि बजार बन्द भएको हो ।

बजारमा यो उछाल आउनुको मुख्य कारण रास्वपाको पूँजीबजार सम्बन्धी एजेन्डा भएको शेयर बजारका जानकारहरू बताउँछन् । रास्वपाले पेन्सन फन्ड, बीमा, म्युचुअल फन्डलाई सक्रिय लगानी गर्न प्रोत्साहन गर्दै ऋण बजार र बन्ड बजारको विकास गरिने, गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति बनाइने र वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याइने एजेन्डा अघि सारेको छ । उसका साथै, पूँजीबजार विकासका लागि धेरै एजेन्डा रास्वपामा छन् ।

यी हुन् रास्वपाको पूँजीबजार सम्बन्धी एजेन्डा :

पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार गर्दै नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाइने, इन्साइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गरिने उल्लेख छ । पेन्सन फन्ड, बीमा, म्युचुअल फन्डलाई सक्रिय लगानी गर्न प्रोत्साहन गर्दै ऋण बजार र बन्ड बजारको विकास गरिने, गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति बनाइने र वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याइने जनाइएको थियो ।

नेपालको विशिष्ट भूगोल र अवस्थालाई ध्यानमा राख्दै ‘सीमारहित अर्थतन्त्र’ को अवधारणालाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राखिने र श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई सेवा निर्यातमुखी तथा ज्ञान–आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न डिजिटल रूपान्तरणलाई प्रमुख आधार बनाइने उल्लेख छ । यसका लागि परिमार्जित तथा विस्तारित बृहत् डिजिटल नेपाल फ्रेमवर्क निर्माण गरी नीति सुधार, पूर्वाधार विकास र सार्वजनिक–निजी लगानी अभिवृद्धि गरिने पनि घोषणापत्रमा उल्लेख थियो ।

रास्वपाले गत निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी वाचापत्रमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने ‘रेमिट्यान्स’लाई उछिन्दै सूचना प्रविधि (आइटी) क्षेत्रलाई देशको प्रमुख आर्थिक आधार बनाउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको थियो । आइटी क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने उल्लेख गर्दै यसलाई देशको सबैभन्दा ठूलो निर्यातजन्य क्षेत्र बनाउने लक्ष्य लिएको छ ।

सूचना प्रविधि क्षेत्रको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पु¥याउने महत्वाकाङ्क्षी लक्ष्य रास्वपाले लिएको छ । यस लक्ष्यलाई साकार पार्न पार्टीले एक स्वायत्त ‘आइटी प्रवद्र्धन बोर्ड’ गठन गर्ने जनाएको छ । यस क्षेत्रको विकासका लागि विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्र्याउन र नाफा स्वदेश फिर्ता लैजान सरल नीति तथा बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

null