काठमाडौं। श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ने आधार सुनिश्चित गरेको छ। समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड पार गर्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ने सुनिश्चित भएको हो।
हालसम्म ८६ लाख ५३ हजार ३१८ मत गणना हुँदा श्रम संस्कृति पार्टीले ३ लाख ५ हजार ७४३ मत प्राप्त गरेको छ। यो कुल मतको ३ प्रतिशतभन्दा बढी भएकाले पार्टीले आवश्यक थ्रेसहोल्ड पार गरेको हो।
निर्वाचन प्रणालीअनुसार राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। पछिल्लो मतगणनामा श्रम संस्कृति पार्टीको मत प्रतिशत बढ्दो क्रममा देखिएको छ।
यस निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट पनि जितेको छ। हालसम्मको मत प्रतिशतका आधारमा पार्टीले समानुपातिकतर्फ करिब चार सिट प्राप्त गर्ने अनुमान गरिएको छ।
यससँगै प्रतिनिधिसभामा छ वटा दल राष्ट्रिय पार्टीका रूपमा स्थापित हुने देखिएको छ। ती दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्।
आर्थिकन्यूज