शीर्षकहरू

बालेनले १ भोटका लागि खर्च गरे २० रुपैयाँ ७३ पैसा

बालेनले १ भोटका लागि खर्च गरे २० रुपैयाँ ७३ पैसा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले एक भोटका लागि २० रुपैयाँ ७३ पैसा खर्च गरेका छन् । बालेनले निर्वाचन आयोगलाई बुझाएको चुनावको समयमा भएको खर्चको विवरण अनुसार एक भोटका लागि २० रुपैयाँ ७३ पैसा खर्च भएको देखिन्छ ।

उनले चुनावमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । बालेनले झापा ५ बाट चुनाव जितेका हुन् । उनले कुल ६८ हजार ३४८ मत ल्याएका छन् । यसरी सरसर्ती हेर्दा उनको एक भोटका लागि २० रुपैयाँ ७३ पैसा खर्च भएको देखिन्छ ।

उनले वडा स्तरीय घरदैलो कार्यक्रममा सबैभन्दा धेरै खर्च गरेका छन् । १५ दिनसम्म सञ्चालन गरेको यस कार्यक्रममा ५ लाख ८० हजार खर्च भएको उनको विवरणमा उल्लेख छ । यस्तै, सवारी साधन खर्चमा उनको दोस्रो धेरै खर्च भएको छ । जहाँ उनले २ वटा सवारी भाडामा लिएका थिए । चुनावी अभियानमा खटिँदा इन्धनको पनि व्यवस्था गरेका थिए । सवारी भाडा र इन्धनमा उनले २ लाख ९३ हजार रुपैयाँ खर्च गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार, प्रचार प्रसार सामग्री खरिदमा १ लाख १९ हजार, क्षेत्रीय निर्वाचन कार्यालय स्थापना र सञ्चालनमा १ लाख २० हजार रुपैयाँ खर्च भएको छ । यसैगरी, हवाई भाडामा ३५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । चुनाव प्रचारका क्रममा उनले ५ पटक हवाई उडान गरेको पनि विवरणमा उल्लेख छ ।

बालेन चुनाव उठेको जिल्ला भापाका उम्मेदवारले ३१ लाख रुपैयाँ भन्दा धेरै खर्च गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । 

यस्तो छ बालेनको खर्च विवरण :
सवारी साधन भाडा खर्च (२ वटा सवारी): १५ दिन, रु. २,९३,८०० (इन्धन सहित)
हवाई भाडा खर्चः ५ पटक, रु. ३५,०००
मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्चः ५८ जना, रु. २८,९७०
वडास्तरीय प्रचार कार्यक्रम (१५ दिने घर दैलो): २९ वडा, रु. ५८,०००
नमुना मतपत्र छपाइः रु. ४९,८५०
झापा ५ निर्वाचन कार्यालय संचालन – पानी खर्चः २ महिना, रु. १,२०,०००
झापा ५ निर्वाचन कार्यालय संचालन – स्टेशनरी खर्चः २ महिना, रु. २२,८२०
प्रचार प्रसार सामग्री छपाइ (कागज एवं व्यानर): रु. १,५७,०४१
प्रचार प्रसार सामग्री (ब्यानर तथा स्टिकर): रु. १,९९,८०८
मनोनयन दर्ताः रु. १०,०००
कुल जम्मा खर्चः रु. १४,१७,२८९

यो विवरण उम्मेदवार नविन भण्डारी (वा सम्बन्धित प्रतिनिधि) द्वारा हस्ताक्षरित छ, मिति २०८२ फाल्गुन २४ गते, जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको देखिन्छ ।

खर्चकाे सीमा 

आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ ।