शीर्षकहरू

मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट

मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट

काठमाडौं । मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेसँगै सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ । जापान र दक्षिण कोरियाका प्रमुख शेयर सूचकांक यतिबेला करिब ७ प्रतिशतसम्म घटेका छन् ।

सोमबार बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेपछि विश्व बजारमा लगानीकर्ताहरू सतर्क बनेका हुन् । यो रिपोर्ट तयार पार्दासम्म कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ११५ अमेरिकी डलरमा कारोबार भइरहेको थियो, जसले मुद्रास्फीति र आपूर्ति अवरोधको चिन्ता बढाएको छ ।

एसियाली प्रमुख सूचकांकमध्ये जापानको शेयर बजार (निक्केई २२५) करिब ७ प्रतिशतले घटेर ५२,०१० अंकमा झरेको छ । त्यसैगरी दक्षिण कोरियाको कोस्पी सूचकांक पनि ७.४३ प्रतिशतले घटेर ५,१६९ अंकमा पुगेको छ । अन्य एसियाली बजारहरूमा पनि गिरावट देखिएको छ । सिंगापुरको स्ट्रेट्स टाइम्स सूचकांक २.६५ प्रतिशतले घटेर ४,७२० अंकमा झरेको छ भने हङकङको ह्याङसेङ सूचकांक २.४६ प्रतिशतभन्दा बढीले घटेर २५,०९५ अंकमा पुगेको छ । त्यस्तै ताइवानको वेटेड इन्डेक्स पनि ५.७७ प्रतिशतले घटेर ३१,७६७ अंकमा पुगेको छ ।

एसियाली शेयर बजारमा आएको यो गिरावट पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकस्मिक रूपमा बढेपछि देखिएको हो । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढ्दै कारोबारका क्रममा ११९.४५ डलर प्रतिव्यारेलसम्म पुगेको थियो । हाल पश्चिम एसियामा इरान, इजरायल र अमेरिकाबीच बहुपक्षीय उच्चस्तरीय द्वन्द्व चलिरहेको छ ।

अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि त्यहाँको सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको खबर आएपछि तनाव झनै बढेको हो । यस घटनाले विश्व ऊर्जा बजारमा तेल आपूर्ति अवरुद्ध हुने चिन्ता बढाएको छ ।

यसैबीच, अमेरिकी शेयर बजार पनि गत साता दबाबमा देखिएको थियो । शुक्रबार एसएन्डपी ५०० सूचकांक १.३३ प्रतिशतले घटेर ६,७४० अंकमा झरेको थियो भने न्यास्ड्याक सूचकांक पनि १.५३ प्रतिशतले घटेर २२,४०० अंकमा पुगेको थियो । तेलको मूल्यमा आएको तीव्र वृद्धि र बढ्दो भू–राजनीतिक तनावका कारण विश्व वित्तीय बजारमा अनिश्चितता थप बढ्ने विश्लेषकहरूले बताएका छन् ।