शीर्षकहरू

के छ रवि र बालेनबीचको ७ बुँदे सहमति पत्रमा ?

के छ रवि र बालेनबीचको ७ बुँदे सहमति पत्रमा ?

काठमाडौं । रास्वपाको बहुमत आएसँगै सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा फेरि बहस सुरु भएको छ । विगतमा रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री बनाउने भनेर चुनावमा होमिएको थियो । चुनावबाट स्पष्ट बहुमत पाएको रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउला या अन्य नेता प्रधानमन्त्री बन्लान भन्ने आम चासोको विषय बनेको छ ।

यसैबीच चुनावमा विजयी भएपछि पत्रकारहरूले यस विषयमा जिज्ञासा राख्दा रास्वपाका उपसभापति डोल प्रसाद अर्यालले विगतमा भएको सहमति आफूलाई कण्ठ नभएको प्रतिक्रिया दिएका थिए । उनको यो प्रतिक्रियासँगै रास्वपाले बालेनलाई नै प्रधानमन्त्री नबनाउँला कि भन्ने शंका आम जनमानसमा उब्जिएको हो । पत्रकारको प्रश्नमा उनले भनेका थिए, “सम्झौतामा के लेखिएको छ मैले पनि एकचोटि हेर्नुपर्छ । मलाई सबै कण्ठ छैन । तपाईंले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यसमा जे लेखिएको छ त्यही हुन्छ ।”

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेबीच एक सम्झौता भएको थियो । २०८२ पुस १३ गते भएको उक्त ७ बुँदे सम्झौता पत्र अनुसार नै बालेन शाह रास्वपामा प्रवेश गरेका हुन् । त्यति मात्रै होइन, उनी रास्वपाको वरिष्ठ नेताको रूपमा पार्टीमा आएका थिए ।

के छ उक्त सम्झौता पत्रमा ?

सम्झौता पत्रको पहिलो बुँदामा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको अपनत्व रास्वपाले लिने उल्लेख छ । यसैगरी, दोस्रो बुँदामा समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने भनिएको छ ।

यसैगरी, दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने विषय तेस्रो बुँदामा छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने विषय चौथो बुँदामा रहेको छ । सोही बुँदामा प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने भनिएको छ ।

बुँदा नम्बर ५ मा वृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने उल्लेख छ भने बुँदा नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने विषय लेखिएको छ ।

बुँदा नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने उल्लेख छ ।

सम्झौता पत्रमा रास्वपाको तर्फबाट सभापति लामिछाने र दोस्रो पक्षको तर्फबाट बालेन शाहले हस्ताक्षर गरेका छन् ।

null