शीर्षकहरू

साउदी जान हिँडेका उमेश आकाशबाटै फर्किए, युद्धले उडान रद्द हुँदा नेपाली यात्रु प्रभावित

साउदी जान हिँडेका उमेश आकाशबाटै फर्किए, युद्धले उडान रद्द हुँदा नेपाली यात्रु प्रभावित

काठमाडौं। चितवनका ४० वर्षिय उमेश भट्ट विगत १४ वर्षदेखि साउदी अरबस्थित कुडु फुड एण्ड क्याटरिङ कम्पनीमा काम गर्दै आएका छन् । छोराको ब्रतबन्धका लागि तीन साताअघि उनी नेपाल आएका थिए । पारिवारिक काम सकिएपछि उनी पुनः साउदी फर्कने तयारीमा थिए।

भट्टको १६ फागुनको रिटर्न टिकट थियो । उनी एयर इण्डियाको शनिबार बिहान ७ः३५ बजेको उडानबाट साउदी अरब फर्कँदै थिए । उनको यात्रा भारतको दिल्ली ट्रान्जिट हुँदै साउदी जाने योजना अनुसार तय गरिएको थियो।

शनिबार बिहान उनी करिब ८ः४५ बजे दिल्ली अवतरण भए । दिल्लीमा उनको करिब दुई घण्टाको ट्रान्जिट थियो । त्यसपछि दिल्लीबाट ११ः४० बजे साउदीका लागि अर्को उडान थियो । तोकिएको समयमै उनी दिल्लीबाट साउदीका लागि उडे।

दिल्लीदेखि साउदीसम्मको उडान समय करिब ५ घण्टा १० मिनेटको थियो । जहाज रियाद पुग्न करिब एक घण्टा मात्र बाँकी रहँदा विमान परिचारिकाले अवतरण हुन लागेको जानकारी दिँदै घोषणा गरिन् । यात्रुहरू गन्तव्य नजिक पुगेको सोचेर सहज महसुस गरिरहेका थिए।

तर केही समयपछि फेरि अर्को घोषणा भयो । पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमका कारण साउदी सरकारले विमानस्थल बन्द गरेको र रियादमा अवतरण गर्न नसकिने जानकारी यात्रुहरूलाई दिइयो । त्यसपछि जहाजलाई तत्काल डाइभर्ट गरियो।

सुरुमा जहाज दिल्ली नै फर्कने जानकारी दिइएको थियो । तर एयर ट्राफिकको अवस्थाका कारण जहाजलाई गुजरातको अहमदाबादतर्फ मोडियो । तर त्यहाँ पनि अवतरण अनुमति नपाएपछि जहाजलाई मुम्बईतर्फ पठाइयो।

सोही दिन साँझ करिब ७ः३० बजे जहाज मुम्बईमा अवतरण भयो । तर मुम्बईमा पनि जहाजलाई धेरै समय बस्न अनुमति दिइएन । इन्धन भरेपछि करिब एक घण्टापछि जहाज फेरि दिल्लीका लागि उड्यो।

राति करिब १०ः३० बजे जहाज दिल्ली अवतरण भयो। दिल्ली पुगेपछि यात्रुहरूलाई गन्तव्यका आधारमा छुट्याइयो । सोही जहाजमा करिब १५० जना नेपाली यात्रु रहेका थिए । उनीहरूलाई काठमाडौंतर्फ फर्काइने जानकारी दिइयो।

त्यसपछि १७ गते राति करिब १२ बजे उनीहरूलाई सोही उडानमार्फत काठमाडौं पठाइयो । काठमाडौं आउँदा पनि जहाज केही समय एयर ट्राफिकमा प¥यो । अन्ततः करिब राति २ बजेतिर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो।

भट्टलाई कम्पनीले २६ फागुनको नयाँ टिकट दिइएको छ । तर उडान नियमित हुने–नहुने अझै निश्चित नभएको उनले बताए । उनी पुन : कहिले साउदी फर्किन पाउने भन्ने अन्योलमा छिन्। 

साउदी अरबस्थित स्वीट डेड कम्पनीमा कार्यरत गीरबहादुर गुरुङ पनि सोही उडानमार्फत साउदी फर्कने तयारीमा थिए । तर मध्यपूर्वमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उडान प्रभावित भएपछि उनी पनि गन्तव्य पुग्न नपाई नेपालमै रोकिएका छन् । अहिले उनी उडान पुनः सञ्चालन हुने प्रतीक्षामा छन्।

सर्लाहीका करण चौधरी पनि १९ फागुनमा कुवेत एयरवेजमार्फत कुवेत जाने तयारीमा थिए । तर मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण एयरलाइन्सले उडान रद्द गरेपछि उनी गन्तव्यतर्फ जान नपाई नेपालमै रोकिएका छन् । अहिले उनी उडान पुनः सञ्चालन हुने प्रतीक्षामा छन्।

गत १६ फागुनदेखि सुरु भएको अमेरिका–इरान युद्धको प्रत्यक्ष असर काठमाडौँ र खाडी मुलुकबीचको हवाई सेवामा देखिएको छ । मध्यपूर्व क्षेत्रमा बढेको सुरक्षा जोखिमका कारण धेरै वायुसेवाले आफ्नो उडान स्थगित गरेपछि काठमाडौँ–खाडी हवाई मार्ग प्रभावित बनेको हो।

हाल संयुक्त अरब इमिरेट्स (यूएई) बाट आंशिक रूपमा केही उडान सञ्चालनमा आए पनि दोहा–काठमाडौँ उडान अझै नियमित रूपमा सुरु हुन सकेको छैन । हवाई सेवा अवरुद्ध हुँदा नेपालबाट खाडी जाने र त्यहाँबाट फर्कने सयौँ यात्रु प्रभावित भएका छन् । कतिपय नेपाली यात्रु नेपालमै रोकिएका छन् भने केही खाडीका विभिन्न सहरमा ट्रान्जिटमै अलपत्र परेका छन्। स्वदेश फर्कन चाहने नेपाली श्रमिकहरू पनि उडान अवरोधका कारण प्रभावित भएका छन्।

युद्ध चर्किँदै जाँदा इरानले इजरायलसँगै कतार, साउदी अरब, यूएई, बहराइन, ओमान र इराकका विभिन्न स्थानलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको बताइएको छ । यूएईका विभिन्न पूर्वाधार र सर्वसाधारण लक्षित गरी १४ सयभन्दा बढी मिसाइल र ड्रोन प्रहार भएको विवरण सार्वजनिक भएको छ।

युद्धका क्रममा यूएईमा भएको एक हमलामा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनाले खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूबीच थप चिन्ता र त्रास बढाएको छ।

युद्धका कारण खाडी क्षेत्रका उद्योग–व्यवसाय पूर्ण रूपमा बन्द नभए पनि निर्माण क्षेत्र र तेल–ग्यास परियोजनामा भने काम प्रभावित भएको छ । यी क्षेत्रहरूमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले त्यसको प्रभाव उनीहरूको रोजगारी र दैनिक कामकाजमा पनि देखिन थालेको छ।

उता खाडीका विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूले त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै आपत्कालीन सहायता प्रणाली सक्रिय बनाएका छन् । समस्यामा परेका नेपालीलाई सहयोग पु¥याउन २४ घण्टा सञ्चालन हुने हटलाइन सेवा सुरु गरिएको छ।

यस्तै ट्रान्जिटमा अलपत्र परेका नेपाली यात्रुहरूका लागि सम्बन्धित दूतावास, एयरलाइन्स र अन्य निकायसँग समन्वय गरेर खाना, आवास तथा आवश्यक सहयोगको व्यवस्था मिलाइएको जनाइएको छ । साथै, त्यहाँ रहेका नेपाली नागरिकलाई परिस्थिति अनुसार सचेत रहन र कुनै समस्या आए तत्काल दूतावाससँग सम्पर्क गर्न आग्रह गरिएको छ।

खाडीमा रहेका ५० हजारभन्दा बढी नेपाली टिपाए विवरण 

अमेरिका–इरान युद्धका कारण खाडी क्षेत्रमा बढेको तनावपछि त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको अवस्थाबारे विवरण संकलन गर्न सरकारले थालेको प्रक्रियामा ५० हजारभन्दा बढी नेपालीले आफ्नो जानकारी दर्ता गराएका छन्।

परराष्ट्र मन्त्रालयको निर्देशनपछि कन्सुलर विभागले सुरु गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ५१ हजार ४ सय ५ जना नेपाली श्रमिकले आफ्नो विवरण दर्ता गरेका छन्। विभागले १९ फागुनदेखि उक्त प्रणाली सञ्चालनमा ल्याएको हो।

सरकारले दर्ता भएका विवरणको आधारमा खाडी क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा अवस्था मूल्यांकन गर्ने र असुरक्षित अवस्थाका व्यक्तिहरूलाई प्राथमिकताका आधारमा उद्धार प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ । आवश्यक परे सम्बन्धित नेपाली दूतावासमार्फत थप जानकारी संकलन र रोजगारदातासँग समन्वय गर्ने प्रक्रिया पनि अघि बढाइनेछ।

खाडी क्षेत्रमा रहेका नेपाली श्रमिकलाई आफ्नो अवस्थाबारे जानकारी दिन अनलाइन फाराम भर्न सरकारले आग्रह गरेको छ । दर्ता गराएकामध्ये कति जना सुरक्षित र असुरक्षित अवस्थामा छन् भन्ने तथ्यांक भने सार्वजनिक गरिएको छैन।

अन्तर्राष्ट्रिय उडान र यात्रु संख्या तीव्र घट्यो

इरानमाथि अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वमा बढेको तनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान घटेका छन् । खाडी क्षेत्रका नौ मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडान र यात्रु आवागमन दुवैमा असर परेको हो।

विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतका अनुसार फागुन २४ गते ७ वटा एयरलाइन्सका १४ वटा उडान रद्ध भएका छन् । जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, एयर अरेबिया, फलाई डुबई, नेपाल एयरलाइन्स, कतार एयरलाइन्स र हिमालयन एयरलाइन्सका उडान रद्ध भएका छन् । ‘केही एयरलाइन्सले आंशिक उडान गरेका छन् । खाडी बाहेक अन्य अन्तराष्ट्रिय उडान भने सुचारु छन्,’ उनले भने। 

२१ गते ७ वटा एयरलान्सका १५ वटा उडान रद्ध भएका थिए ।  फागुन २० गते पनि ७ वटा एयरलाइन्सको ९ वटा मुलुकका  १७ वटा उडान रद्ध भए । फागुन १९ गते जजिरा एयरलाइन्सको एउटा, कुवेत एयरवेजको दुई वटा, एयर अरेबिया चार वटा, फलाई दुबईको तीन वटा, नेपाल एयरलाइन्सको एउटा, कतार एयरवेजको तीन वटा र हिमालयन एयरलाइन्सको दुई वटा उडान रद्ध भएको छ।  

१८ गते पनि नौ वटा मुलुकको एयरस्पेस बन्द हुँदा सात एयरलाइन्सका १६ वटा उडान रद्ध भए । १७ गते ८ वटा एयरलाइन्सका १४ वटा उडान रद्ध भए। 

१५ फागुनसम्म स्थिर रहेको अन्तर्राष्ट्रिय उडान संख्या १६ फागुनपछि घट्न थालेको हो । १५ फागुनमा ५४ प्रस्थान र ५२ आगमन गरी १ सय ६ अन्तर्राष्ट्रिय उडान भएका थिए । तर १६ फागुनमा यो संख्या घटेर ४१ प्रस्थान र ४९ आगमन गरी ९० उडानमा सीमित भयो । त्यसयता दैनिक उडान संख्या उल्लेख्य रूपमा घटेको छ । यात्रु आवागमन पनि घटेको छ । 

काठमाडौं–खाडी मार्गमा हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगमसहित सात वायुसेवा कम्पनीले नियमित उडान सञ्चालन गर्दै आएका थिए । हाल भने फ्लाई दुबईले सीमित उद्धार उडान मात्रै सञ्चालन गरेको छ । कतार एयरवेज, एयर अरेबिया, कुवेत एयरवेज र जजिरा एयरवेजले नेपालतर्फको उडान स्थगित गरेका छन् । फ्लाई दुबईको उद्धार उडान पनि नियमित रूपमा सञ्चालन भइरहेको छैन ।