काठमाडौं । नेपाल आयल निगमले बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिएको छ। निगमले पेट्रोलियम डिलर्स एसोसिएसन (धनुषा र महोत्तरी) लाई सोमबार पत्र पठाउँदै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलजस्ता अतिप्रज्ज्वलनशील पदार्थ बोतल वा जेरिक्यानमा बिक्री गर्दा आगलागी तथा विस्फोटजस्ता दुर्घटनाको जोखिम बढ्छ। त्यसैले विक्रेता तथा पेट्रोल पम्पहरूलाई यस्तो तरिकाले इन्धन बिक्री नगर्न कडा निर्देशन दिइएको छ।
निगमले डिलर्स एसोसिएसनमार्फत सदस्य र सर्वसाधारणलाई पनि सचेत गराउन तथा नजिकैको आधिकारिक विक्रेता वा पेट्रोल पम्पबाट मात्र इन्धन खरिद गर्न आग्रह गरेको छ।
डिपो प्रमुख रञ्जित कपडी द्वारा हस्ताक्षरित पत्रमा अनुगमनका क्रममा उल्लंघन भेटिए निगम विनियमावली तथा नेपाल सरकारको प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

आर्थिकन्यूज