काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (फागुन २६) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर ३२ लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये केही हिस्सा यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।
पहिलो चरणमा ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि निष्कासन गरिएको थियो।
दोस्रो चरणमा कम्पनीले कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएको छ भने बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल मूल्य १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर हुन्छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
शिखर पावर डेभलपमेन्टले ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २९.०८ वर्ष बाँकी रहेको कम्पनीले जनाएको छ।
यस आयोजनाबाट २०८१ फागुन २५ देखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ। कम्पनीका अनुसार लगानी फिर्ता हुने साधारण अवधि ८.९२ वर्ष र डिस्काउन्ट अवधिमा १३.६४ वर्ष रहेको छ।
कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
आर्थिकन्यूज