शीर्षकहरू

इरानसँगको द्वन्द्व अन्त्य हुने संकेतपछि विश्व बजारमा कच्चा तेलको मूल्य घट्यो

इरानसँगको द्वन्द्व अन्त्य हुने संकेतपछि विश्व बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुन सक्ने संकेत गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ।

फ्लोरिडामा रिपब्लिकन पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै ट्रम्पले तेलको मूल्य घटाउन केही प्रतिबन्ध फुकुवा गर्न सकिने तथा इरानसँगको तनाव कम हुन सक्ने बताएका थिए। उक्त अभिव्यक्ति सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्बन्धी वेबसाइट आयलप्राइस डटकमले जनाएको छ।

सोमबार मुरबान क्रुडको मूल्य प्रतिव्यारेल ११८ डलर नाघेको थियो। तर मंगलबारसम्म आइपुग्दा यसको मूल्य घटेर करिब ११० डलरमा झरेको छ।

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि घटेर प्रतिव्यारेल ८८.४१ डलरमा सीमित भएको छ भने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) प्रतिव्यारेल ८४.८२ डलरमा कारोबार भइरहेको छ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो। पछिल्ला पाँच वर्षयताकै उच्च स्तरमा पुगेको तेलको मूल्य ट्रम्पको वक्तव्यपछि भने घट्न थालेको हो।

अमेरिका र इजरायलले अघिल्लो शनिबारदेखि इरानमाथि आक्रमण गरिरहेका छन्। राजधानी तेहरानसहित विभिन्न स्थानमा आक्रमण जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसको जवाफमा इरानले कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, साउदी अरेबिया, जोर्डन तथा इजरायलतर्फ मिसाइल प्रहार गरेको बताइएको छ।

मध्यपूर्वमा बढ्दो तनावका कारण क्षेत्रीय हवाई उडानहरू प्रभावित भएका छन् भने केही स्थानमा समुद्री यातायातसमेत अवरुद्ध भएको छ।

विश्लेषकहरूका अनुसार युद्ध लम्बिएमा यसको असर नेपालजस्ता पेट्रोलियम पदार्थ आयातमा निर्भर मुलुकमा पनि पर्न सक्छ। मध्यपूर्व क्षेत्र विश्वको प्रमुख तेल आपूर्ति केन्द्र भएकाले त्यहाँको द्वन्द्वले आपूर्ति र मूल्य दुवैमा प्रभाव पार्न सक्छ।

विशेषगरी विश्वको ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुने हरमुज जलडमरूमध्य बन्द हुने जोखिमले बजारमा थप अनिश्चितता बढाएको छ। यो जलमार्ग पर्सियन खाडी हुँदै विश्व बजारमा तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

ऊर्जा बजारसम्बन्धी संस्थाहरूले आगामी वर्षहरूमा तेलको मूल्य क्रमशः स्थिर हुने अनुमान गरेका छन्। विश्लेषणअनुसार सन् २०२६ को अन्त्यसम्म वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ६२ डलरमा रहने अनुमान गरिएको छ।

त्यस्तै आगामी वर्षहरूमा कच्चा तेलको औसत मूल्य क्रमशः बढ्दै सन् २०२७–२०२८ मा करिब ६९ डलर र २०२९–२०३० सम्ममा करिब ७५ डलरसम्म पुग्ने अनुमान गरिएको छ।

कच्चा तेलसँगै अन्तर्राष्ट्रिय बजारमा सुन र अमेरिकी डलरको मूल्य पनि बढ्दो क्रममा रहेको छ, जसले विश्वव्यापी महँगी बढ्ने संकेत दिएको विश्लेषकहरू बताउँछन्।